back

एमाले विवाद बढाउने निषेधपूर्णं निर्णयहरु, यस्तो छ निर्णय श्रृंखला

वि.सं.२०७८ वैशाख ९ बिहीवार

327 

shares
GLOBAL IME AD
NTC AD

वैशाख ९, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको नेकपा (एमाले)मा सुरुवातदेखि नै विवाद छ । एमालेमा विवादको विषय मुख्यतः पार्टी सञ्चालन कुन विधिबाट र कसरी गर्ने भन्नेमा छ । माधवकुमार नेपाल पक्षले पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २)मा फर्कनुपर्ने माग गरिरहेको छ भने अध्यक्ष केपी शर्मा ओलीले नयाँ आधारबाट अगाडि बढ्नुको विकल्प नरहेको बताईरहेका छन् ।

माधव पक्षले सुरुवातदेखि सर्वोच्च अदालतको फैसलाअनुसार साबिककै अवस्थाबाट अगाडि बढ्नुपर्ने माग गरिरहेको छ । तर, प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा रहँदाको अवस्थामा विवादकै बीच बनेका संरचनालाई नै एमालेलाई रुपान्तरण गरेर अगाडि बढ्न खोजिरहेका छन् ।

सर्वोच्च अदालतको फैसला लगत्तै फागुन २८ मा अध्यक्ष ओली पक्षले राखेको बैठक र त्यसले गरेका निर्णय नै समस्याका रुपमा उभिएका छन् ।

विवादको सुरुवात फागुन २८ बाट

सर्वोच्च अदालतको फैसला लगत्तै गत फागुन २८ मा ओलीले आफ्नो पक्षलाई मात्रै समेटेर नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक राखेका थिए । उनले उक्त बैठकबाट केन्द्रीय कमिटी विस्तारदेखि विधान संशोधनसम्मका निर्णय गराएका थिए ।

बहुमतको आधारमा गरिएको भनिएको उक्त बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति घोषणासम्मको निर्णय गरेको थियो । बैठकले सारमा माधव पक्षीय नेताहरुलाई पार्टीलाई पुरै खेद्ने कार्यक्रमलाई अगाडि बढाएको थियो ।

फागुन २८ मा बसेको बैठक र त्यसपश्चात श्रृंखलाबद्ध बसाइएको बैठकबाट एकपछि अर्को चरणमा माधव पक्षीय नेतामाथि कारबाही गरिएको छ । ओलीले चैत १६ मा माधव नेपाल र भीम रावललाई पार्टी सदस्यबाटै निलम्बन गरेका थिए ।

नेता नेपाल र रावललाई निलम्बन गरेको केहि सातापश्चात वैशाख ७ मा ओलीले पुनः माधव पक्षीय अधिकांश सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् । ओलीले स्पष्टीकरणमा ‘अन्तिम मौका’ भनेर पनि भनेका छन् ।

फागुन २८ देखि ओलीका श्रृखंलाबद्ध निर्णयहरु र चेपुवामा परेको माधव पक्षले गरेका निर्णयहरुले विवाद विभाजनको डिलसम्म पु¥याएको प्रष्ट देखिन्छ । हालको अवस्थामा हेर्दा ओलीका श्रृखंलाबद्ध एक पक्षीय निर्णय र त्यसलाई ‘काउण्टर’ दिने माधव पक्षका समानान्तर कमिटी निर्माणदेखि ‘फ्लोर क्रस’सम्मका निर्णयहरु विभाजनकै घोषणा नजिक छन् ।

के अर्थपूर्णं छ मेरियट होटल वार्ता ?

लामो बाझाबाझ र संवादहिनतालाई तोड्दै बुधबार दुई नेताबीच राजधानीको मेरियट होटलमा भेटवार्ता भयो । जुन भेटवार्तामा भएका छलफलका विषयहरु बाहिर नआए पनि दुई पक्षबीच भएको संवादहिनता तोडिएकोलाई एमालेभित्रबाट ठूलो उपलब्धी भनि चर्चा गरिएको छ ।

तर, वार्ताको भोलीपल्टै अध्यक्ष ओलीले गरेको सार्वजनिक सम्बोधन र व्यक्त विचारले भने अवस्था थप जटिल रहेको बुझ्न सकिन्छ । बिहिबार पार्टी कार्यालय भवन निर्माणको शिल्यान्यास गर्दै ओलीले गुटसँग सम्झौता नगर्ने बरु सामना गरेर जाने चेतावनी दिएका थिए । उनले माधव पक्षले गरेका गतिविधिमाथि पनि निकै रुखो आलोचना गरेका थिए ।

माधव नेपाल पक्षले भने सार्वजनिक रुपमा मेरियट होटल वार्ताबारे मुख खोलेको छैन् । नेपाल पक्षले वार्ताबारे धारणा बनाउन बिहिबार बेग्लै भेला नै बोलाएको छ ।

तर, वार्तासँगैका अभिव्यक्तिलाई हेर्दा समाधान तर्फ गएको भनेर भन्न सकिन्न । कतिपयले एमालेभित्रको विवाद थप जटिल नै बन्ने अवस्थामा रहेको बताएका छन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:३० मा प्रकाशित