वैशाख १६, काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको कोरोना रिपोर्टबारे आशंका जनाएको छ । जनमोर्चाले एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारी ल्याबमा पोजेटिभ आएको रिपोर्ट एकाएक कसरी नेगेटिभ आयो भनि प्रश्न गरेको छ ।
‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो, त्यसपअघि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पतालमा भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ’, जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिको अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थन छौं ।’
जनमोर्चाले अस्पताल भर्ना गरिएका सांसदसँग भेट्न नदिइएर बन्दी जसरी राखिनुको कारणबारे प्रश्न गरेको छ । जनमोर्चाले शाहीको स्थिति सार्वजनिक गर्न पनि माग गरेको छ ।
जनमोर्चाले गण्डकी प्रदेशको राजनीति अस्वभाविक देखिएको भन्दै संसद सञ्चालन प्रक्रिया सामान्य र स्वभाविक बनाउन पनि माग गरेको छ ।
बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व अविश्वासको प्रस्तावमाथि मतदान हुने समय सांसद शाही सम्पर्क विहिन भएपछि खोजी गर्दा उनी एक निजि अस्पतालमा भेटिएका थिए । हालसम्म पनि उनी उपचारको नाममा अस्पतालमै छन् र उनलाई कसैसँग भेट्न दिइएको छैन् ।
यस्तो छ विज्ञप्ती
वि.सं.२०७८ वैशाख १६ बिहीवार १२:१३ मा प्रकाशित