
१६ वैशाख । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट ३ हजार १६५ नागरिकको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ४ लाखनजिक पुगेको छ । प्राप्त समाचार अनुसार त्यहाँका ३ लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । त्यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।
त्यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।
वि.सं.२०७८ वैशाख १६ बिहीवार १३:३७ मा प्रकाशित