
वैशाख १७, काठमाडौं । पार्टी आन्तरिक किचलोका बीच बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ सांसदलाई पदमुक्त गराएसँगै जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद चरमतातिर पुगेको छ । लुम्बिनी घटनाकै कारण एकिकरण सम्पन्न नभएको जसपा फेरि पूर्ववत अवस्था फर्किने त होइन भन्ने प्रश्न पनि खडा भएको छ ।
गत वैशाख ६ मा आफुँविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाई मुख्यमन्त्री शंकर पोखरलले एकाएक मन्त्री बनाएका थिए । जसपाका ६ सांसदमध्ये पूर्वराजपाका ४ सांसदलाई उनले मन्त्री बनाएका थिए ।
उक्त घटना लगत्तै जसपाको भट्टराई र यादव पक्षले राजीनामा दिन माग गरेको थियो । तर, उक्त घटनालाई महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने स्वागत गरेको थियो ।
उक्त घटनाप्रति निकै असन्तुष्ट बनेको भट्टराई र यादव पक्षले बहुमत कार्यकारिणी सदस्यहरुको हस्ताक्षर गरेर लुम्बिनीका चार सांसदलाई निलम्बन गर्ने निर्णय प्रदेश सभामुखलाई बिहिबार पठाएका थिए । जुन निर्णयका आधारमा प्रदेश सभाले उनीहरुलाई सांसदबाट पदमुक्त गराएको हो ।
जुन प्रकरणप्रति असन्तुष्ट पूर्वराजपा समूह अदालत जाने निर्णयमा पुगेको छ ।
आन्तरिक विवाद प्रदेशमा पोखियो
जसपाभित्रको विवाद तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विभाजन सुरु हुँदादेखि उत्कर्षमा पुगेको हो । तत्कालिन समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा जसपा दुई धारमा देखिएको थियो । जसपाको पूर्व राजपा निरन्तर ओलीको बचाउमा देखिँदै आएको छ ।
पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्दा जसपाको पूर्वराजपा समूहले अड्को थाप्दै आएको छ । ओलीविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी हुँदा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष निरन्तर सुटुक्क ओलीसँग वार्ता गरिरहेको छ ।
अहिले ठाकुर र महतो समूह सरकारमा जाने तयारीसहित ओलीसँग वार्तामा छ । जुन विषयकै कारण जसपा स्वभाविक दुई चिरामा विभाजित छ ।
कस्तो छ जसपाको अंकगणित ?
जसपामामहन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ मुख्य नेता हुन् । जसपा ठाकुर पक्ष कमजोर छ ।
जसपाभित्र कार्यकारिणी समितिलाई शक्तिशाली निकायको रुपमा मानिन्छ । जहाँ ५१ जना सदस्य छन् । ५१ सदस्यमध्ये बहुमत बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा छ ।
तत्कालिन समय पार्टी एकता हुँदा २५ समाजवादी र २६ राजपाका लागि छुट्याइएको थियो । तर, राजनीतिक परिवर्तनसँगै झण्डै ३१ सदस्य समाजवादी पक्षमा देखिएका छन् । भट्टराई र यादवले ठाकुर पक्षका महेन्द्रराय यादव र शरतसिंह भण्डारीसहितका केहि नेतालाई आफ्नो पक्षमा पारेका हुन् । महेन्द्र राय र शरतसिंहको पक्षमा तीन÷तीन सदस्य छन् ।
यता संसदमा पनि राय र सिंह पक्षले गुट परिवर्तन गरेसँगै बाबुराम र उपेन्द्र बहुमतमा छन् । ३२ सांसदमध्ये बाबुराम र उपेन्द्र पक्षमा २० सासंद देखिएका छन् । तत्कालिन पार्टी एकताको समय दुई पक्षसँग बराबर सांसद थिए ।
सम्बन्धित समाचार