
वैशाख १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावबारे वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी पोखेका छन् । पौडेलले बुझ्दै नबुझी बोलेको देउवाको भनाई छ ।
शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संख्या नपुगेको कारण सरकारविरुद्व अविश्वासको प्रस्ताव नल्याएको उनको भनाई छ । ‘पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ तर, संख्या पुग्नुपर्छ, चाहेर मात्रै हुने कुरै भएन, सरकार बनाउने मात्रै कुरा गरेर भनेर’, देउवाले भनेका छन्, ‘अविश्वासको प्रस्ताव के गर्न दर्ता गर्ने, दर्ता गरेपछि फेल भो भने के गर्ने ? हामीसँग संख्या पुग्दैन् ।’
उनले जसपाको अन्यौंलको कारण बहुमत नपुगेर प्रस्ताव दर्ता नगरेको बताए । ‘प्रचण्ड ज्यूको जोडेर पुग्दैन्, जसपा अलमलमा छ, बहुमत पुगेको छैन्’, देउवाले भने, ‘बहुमत नपुगे पछि के गर्ने ?’
देउवाका अनुसार जसपाले निर्णय नगर्दासम्म अविश्वासको प्रस्ताव लैजान कठिन छ । अविश्वासको प्रस्ताव असफल हुँदा थप संकट आउने उनको भनाई छ ।
बिहिबार एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति देउवाबीच साँठगाँठ रहेको आरोप लगाएका थिए । अविश्वासको प्रस्ताव नल्याएर देउवाले ओलीलाई सहयोग गरेको उनको आरोप थियो ।
एक अर्को प्रसंगमा बोल्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार जिम्मेवार नभएको आरोप लगाए । सरकारको गैरजिम्मवार शैलीका कारण कोरोनाको दोस्रो लहर आएको उनको भनाई छ ।