क्षितिजको ढोकाबाट
मुस्कान बोकेर छिर्ने गर्छ
धर्ती उघार्न एक अरुणोदय
हतारिएझैं लाग्छ बिहानैपिच्छे
प्राणी जगत् बिउँझाउन एक उदीयमान ज्योति
लाग्छ उत्सवमयझैं त्यो मुहूर्त
जसको अवसरमा गुन्जिन्छ एउटा कलरव
फक्रिन्छ लेकाली गुराँसजस्तो बिहान
फैलिन्छन् चराका सुसेली र तानाबानाहरू
सल्बलाउँछन् असङ्ख्य प्राणीका स्वर लहरी
र साइरन बनेर सल्बलाउँछन्
प्राणीका प्रवेशद्वारमा
र खोल्छन् नव साइतहरू
एउटा खैलाबैला जुर्मुराउँछ
सिङ्गो मानव बस्तीभरि ।
प्रतिदिन हतारिन्छ समय
र खोज्छ एउटा लालिमा
सँघार हुँदो रङ्ग भएर पोखिन्छ
आलोकबोकेर पोतिन्छ
फैलिन्छन् हातहरू बिछ्यौनाभरि छरपस्ट
आफ्नै आयु असरल्ल भैरहेझैं लाग्छ
अनि अलपत्र योजनाहरूको फायल च्यापेर
हरेकका हात-हातमा बुझाउन
आइपुगेझैं लाग्छ दिनहुँ पुलिन्दा
चराचर जगत् र घर आँगनी वस्ति हुँदै
हरेक पूर्वान्हमा झुल्किंदो रहेछ
एउटा घाम नयाँ यामबनेर
अरुणिमाको नाममा
पोखिंदोरहेछ सधैं सधैं
असरल्ल बिस्कुन हरेक बिहानीमा ।
०……………०……………….०
हालःलोकन्थली,भक्तपुर
९८४२०९९८३१
वि.सं.२०७८ वैशाख १८ शनिवार ०७:३२ मा प्रकाशित