
वैशाख २०, काठमाडौं । लुम्बिनी प्रदेशका स्वतन्त्र दुई सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आफ्नो बोली फेरेका छन् । एमालेप्रति आफ्नो समर्थन नरहेको घोषणा गरेको एक दिन नबित्दै उनीहरुले बोली फेरेका हुन् ।
सोमबार श्रीवास्तव र शाहीले संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै आफुँहरु एमाले संसदीय दलप्रति प्रतिबद्ध रहेको र मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको बताएका हुन् । उनीहरुले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका कुलप्रसाद केसीले आफुँहरुको हस्ताक्षर बदनियत र त्रुटिपूर्णं रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
यसअघि आइतबार संसार न्यूजसँगको कुराकानीमा सांसद धर्मबहादुर लाल श्रीवास्तवले आफुँहरु दुवै जनाको एमालेप्रति समर्थन नरहेको बताएका थिए । उनले आफुँहरु सुर्य चिन्हबाट चुनाव लडेको भएपनि स्वतन्त्र सांसद भएको बताएका थिए ।
‘हामीले राजीनामा दिएको होइन, संयुक्त गठबन्धनलाई समर्थन गरेका हौं’, संसार न्यूजसँग श्रीवास्तवले भनेका थिए, ‘२०७४ असोज २४ मा भएको दुई बुँदे समझदारीअनुसार हामी सुर्य चुनाव चिन्हमा लडेका हो, तर हालसम्म हामीले सदस्यता लिएका एमालेको छैनौं, आज आएर हामीले संयुक्त गठबन्धनलाई समर्थन गरेको हो ।’
बहुमत भए नभएको स्पष्ट नहुँदै लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । गठबन्धनले आफ्नो पक्षमा ४२ सांसदको हस्ताक्षर देखाउँदा देखाउँदै गरिएको नियुुक्तीप्रति दलहरु विरोधमा छन् ।
आइतबार विरोधकै बीच कडा सुरक्षा घेराभित्र पोखरेलले मुख्यमन्त्रीको सपथ लिएका थिए । उनले मुख्यमन्त्रीको सपथ लिएसँगै एमालेप्रति समर्थन नरहेको सार्वजनिक घोषणा गरेका सांसदहरुले समेत बोली फेर्न थालेका छन् । जुन निकै रहस्यपूर्णं छ ।
सम्बन्धित समाचार
लुम्बिनीको राजनीति : हृदयेश त्रिपाठी समूहका दुई सांसदले छाडे एमाले