२४ माघ, काठमाडौँ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजात नियन्त्रणमा लिएको छ ।
क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको विषयमा अनुसन्धान गर्न आएको प्राविधिकसहितको टोलीले कागजपत्र नियन्त्रणमा लिएको हो । यही माघ २१ गते मकवानपुर तथा आसपासका क्षेत्रमा विद्युत् चोरीको अवस्था अध्ययन गर्न टोली खटिएको थियो ।
हेटौँडा वितरण केन्द्र मातहत ५३ प्रतिशत विद्युत् चोरीको समाचार सार्र्वजनिक भएपछि महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक विष्णु केसीको नेतृत्वमा विद्युत् प्राधिकरणका इन्जिनियरसहित आएको टोलीले स्थानीय उद्योग तथा व्यवसायीको मिटर तथा विद्युत् चोरी हुनसक्ने स्थानमा स्थलगत अनुगमनसमेत गरेको छ ।
साथै, हेटौँडाको हर्नामाडीमा रहेको शिवम् सिमेन्ट उद्योगमा समेत अनुगमन गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्युत् चोरीको समाचारलाई नै आधार बनाएर अनुसन्धान सुरु गरेका हौँ ।” यसअघि उल्टो मिटर घुमाउने काममा संलग्न भएको आरोपमा प्राधिकरणको हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान पक्राउ परेका छन् । थप अनुसन्धानको क्रममा कर्मचारीसँगको बयान जारी राखेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
विद्युत् चोरी गरेको र चोराएको आरोपमा प्राधिकरण हेटौँडाका केही कर्मचारीसँग बयान लिइएको र वितरण केन्द्रका केही कर्मचारीको सुक्ष्म अध्ययन गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । गत आवमा मात्र यस वितरण केन्द्र मातहत रु ५२ करोड ६५ लाख ४८ हजारको विद्युत् चुहावट भएको पाइएको छ । सो परिमाण कूल विद्युत् प्रसारणको ५३ प्रतिशत हुन आउछ ।
ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकीङ गरेर विद्युत्चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यावसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीकै मिलेमतोमा बिजुली चोरी हुने गरेको हो ।