
२२ बैशाख, रुपन्देही । रुपन्देहीमा मंगलबार राति र बुधबार बिहान गरेर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चारैजना रुपन्देहीका हुन् भने उनीहरुमा तीन महिला र एक पुरुष रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका ९ की ५४ वर्षीया महिलाको बुधबार बिहान ६ः२२ मा मृत्यु भएको छ । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै तिलोत्तमा नगरपालिका ४ की ४० वर्षीया महिलाको पनि बुधबार बिहान ६ः३८ मा मृत्यु भएको छ । बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार अस्पताल भर्ना भएकी उनको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी रुपन्देहीकै कन्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको पनि उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन नै अस्पतालमा भर्ना भएकी उनको बुधबार बिहान ५ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पतालमा बेड नपाएपछि फिवर क्लिनकमा राखेर उपचार गरिएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यस्तै बुटवल १२ रुपन्देहीकी ४७ वर्षीय पुरुषको पनि मंगलबार राति १० बजे मृत्यु भएको छ । बैशाख १५ मा कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन नै कोरोना विशेष अस्पतालमा भर्ना भएका उनमा ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो ।