२२ बैशाख, रुपन्देही । रुपन्देहीमा बुधबार मात्रै पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार आज बिहान मात्रै कोरोना संक्रमित भएका पाँचजनाले ज्यान गुमाएका हुन् ।
अस्पतालका अनुसार पछिल्लोपटक देवदह ९ रुपन्देही निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा निधन भएको छ ।
बैशाख २० गते अस्पतालको आइसीयुमा भर्ना भएकी उनको आज बिहान १०ः४५ मा मृत्यु भएको हो ।
स्वास प्रश्वास तथा ज्वरोको समस्या रहेकी उनको आजै कोरोना पोजेटिभ आएको पनि अस्पतालले जनाएको छ ।
त्यसैगरी बुटवल १४ रुपन्देहीका ४९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइहेका उनको आज १२ः१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
चारदिन अघि कोरोना पोजेटिभ देखिएका उनी सोहिदिन अस्पतालमा भर्ना भएका थिए । उनमा ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो ।
यसअघि बुटवल उपमहानगरपालिका ९ की ५४ वर्षीया तिलोत्तमा नगरपालिका ४ की ४० वर्षीया र कन्चन गाउँपालिका–४ की २७ वर्षीयगरी तीन महिलाले अस्पतालको फिवर क्लिनकमै उपचारका क्रममा ज्यान गुमाएका थिए ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १३:५८ मा प्रकाशित