
२३ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा ४ लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल ४ लाख १२ हजार ६ सय १८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या २ करोड १० लाख ७० हजार ८ सय ५२ पुगेको छ ।
सोही अवधिमा ३ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या २ लाख ३० हजार १ सय ५१ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३५ लाख ७१ हजार ६ सय २५ रहेको छ ।