
२४ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका २, तनहुँका १ र कास्कीका १ जनाको मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पर्वतको जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुषको होम आइसोलेशनमै विहीबार मृत्यु भएको छ । उनमा बिहीवार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पर्वतकै कुश्मा नगरपालिका ९ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा बैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँको व्यास नगरपालिकाकी ६० वर्षीया महिलाको पनि मणिपाल अस्पतालमा उपचारका क्रममा विहीबार बेलुका ६ः५० मा मृत्यु भएको छ । उनमा बिहीबारै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा उपमहानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बुधबार कोरोना संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४५ पुगेको छ ।