
क्षितिजको अग्लो सतह
पृथ्वीको अन्तर गहिराइँ
र सुनसान शून्यको
पर्दा खोलेर बिस्तारै
केही छाड्दै
केही बाँकी राख्दै
केही बाँकी राख्दै
र केही छाड्दै
रहस्यका मन्द ज्वारहरू
एकपछि अर्को
र अर्कोपछि अर्को गर्दै
खाल खालका
मनोदिलका पर्खाल बनेर
भर्खर
तर अनायास
मेरो घरभित्र छिरेको छ–वसन्त
सुतेकालाई ब्युँझाउदै
लोलाएकालाई उठाउदै
निस्तेज ! निस्तेज !! बस्नेमा
छरेर कामतुर यौन्मादका परागहरू
सर्वत्र गर्भाधान गर्दै
सौन्दर्यको
सृष्टिको
सिर्जनाको
उन्मेषको
उर्ध्वचेतनाको
पूरा छाती खोलेर
अलिकति खुम्च्याउँदै
पूर्वी क्षितिजको कौमार्य
पृथ्वीको अन्तर कञ्चन सुललितता
र सुनसान शून्यको
पर्दा उघारेर
एकाएक
मभित्र अनजानमै
अनायास
घुसेको छ–वसन्त !!