१.
ए ! हजुर हाम्रो सरकारको काम गन्ने मात्र भो
कति संक्रमण भो ? कति मरो ? भन्ने मात्र भो
आफ्नो ज्यानको सुरक्षा, आफैले नै गर्नुहोला,
सरकारले गर्ने, मरेपछि खाल्टो खन्ने मात्र भो ।
२.
हरेक मान्छेमा यौटा न यौटा कला हुन्छ
कसैको घोक्रे कसैको सुरिलो गला हुन्छ
ए! हजुर समय एकनासको हुन्न कहिले,
तराजु जस्तै, दुःख र सुखको पला हुन्छ ।
३.
आजकाल गुरुहरु पनि लुरुलुरु भएका छन्
वल्लोबाट पल्लो हामफाल्न शुरु भएका छन्
ए ! हजुर बढो दुःखका साथ यो भन्नुपर्छ कि,
दिउँसो यता, राती उता खुरुखुरु भएका छन् ।
४.
देशलाई कसैले पनि पेवा नठान्नुहोला
मिच्ने, थुत्ने र घिच्ने मेवा नठान्नुहोला
सबै मिलेर अझै उन्नती र बिकास गरौं,
एटिएमबाट निस्किने ढेवा नठान्नुहोला ।
५.
आजकाल ए ! हजुर डम्फु बजाउनु पर्छ
काम फत्तेपार्न पनि लम्फु बजाउनु पर्छ
सोझो औंलाले निस्किदैन रहेछ घिउ,
औंला बाङ्गो पारेर कम्फु बजाउनु पर्छ ।
वि.सं.२०७८ वैशाख २५ शनिवार ०६:२७ मा प्रकाशित






























