वामपन्थीहरुको विचार बोकी हिड्ने सर्वहारा डा. गोविन्द केसीको माग पुरा गर्न त परै जावस उसलाई कारवाही गर्न पनि पछी परेनन्, जसको परिणाम आज आम नेपालीले मानवीय स्वास्थ्य संकट भोगिरहेका छन् । यो संकटको भूमरिमा पनि सत्ता खेलमा निर्लज्ज छन्, यी वामपन्थी भन्ने दलहरु ।
फ्रान्समा राज्य क्रान्ति (१७८९/१७९८) ताका त्यहाँका व्यवस्थापिका सदस्यहरुको बसाइको दिशालाई आधार मानेर ‘वाम’ र ‘दक्षिण’ शब्दको प्रादुर्भाव भएको देखिन्छ । त्यो वेला जो राज्य क्रान्तिको समर्थन गर्नेहरु देव्रेतर्फ र पुरानो सत्तालाई समर्थन गर्नेहरु दाइनेतर्फ बस्दथे । तसर्थ, वामपन्थी शब्द कम्न्युनिष्ट आन्दोलानबाट नभई फ्रान्सेली क्रान्तिको गर्भबाट पैदा भएको थियो । पछी आर्थिक, सामाजिक असमानताका विरुद्द समानता र समानतावादी सिद्दान्तको राजनीति नै वामपन्थी राजनीति बन्यो र कम्न्युनिष्ट पार्टीहरुले आफूहरु मात्र वामपन्थी भएको दावी गर्न थाले ।
आज संसारमा कम्न्युनिष्ट शक्ति वा सत्ता नगन्य छ र भएका पनि लोकप्रिय छैनन् । करिब १५ बर्ष अघिसम्म भारतको राजनीति र संसदमा वामपन्थी शक्तिको राम्रै उपस्थिति थियो, तर आज भारतको शासन प्रणालीमा वामपन्थी शक्तिको नामनिसाना छैन । भारतमा वामपन्थी आन्दोलनको असफलताबारे भारतीय लेखक रजनी कोठारीले २०२० को अप्रिल १८ मा एउटा आफ्नो लेख मार्फत भनेका छन् – “भारतमा वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाई सकेको थियो । सुरु सुरुमा वामपन्थी राजनीति व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने आन्दोलनको रुपमा विकास होला भन्ने ठानिएको थियो । परन्तु व्यवहारमा त्यस्तो भएन । समयक्रममा जे भयो सब उल्टा भयो। संसद तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जन आन्दोलनलाई उपयोग गरेर फाइदा उठायो। वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग एक हद सम्म त कायम रह्यो र विचारधारात्मक मुद्धामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रुपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनितिक व्यवहारको दायरा भने बन्नै सकेन ” ।
भारतमा जस्तै पनि नेपालका राजनैतिक दलहरुले वामपन्थी विचारधारा कसरी अघि बढाए र व्यवहारमा कता पुगे भन्ने उल्लेख गर्न खोजिएको छ ।
संसारका मुलुकहरु उपनिवेशबाट मुक्ति, औद्योगिक क्रन्तिको लहर सहित प्रविधिको विकास र स्टालिनकालिन कम्न्युनिष्ट निरङकुस शासनको कारण पश्चिम युरोपमा राजनैतिक, सांस्कृतिक स्वतन्त्रता र आर्थिक समानता सहितको नयाँ मार्क्सवादको बहस सहित लोकतान्त्रिक शासन व्यवस्थाको लहर चल्यो । त्यसको प्रभाव भारत लगायत दक्षिण एशियाली राष्ट्रहरुमा पनि पर्यो । यसै सन्दर्भमा, नेपालमा पनि राजनैतिक परिवर्तनको लागि विभिन्न दलहरु निर्माण गरी आन्दोलनमा होमिए । २००७ साल देखि पछिको महत्वपूर्ण राजनैतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गर्यो, जसका नायक थिए, नेपाली राजनीतिका शिखर पुरुष विपी कोइराला । विपी कोइरालाले विश्वको अर्थ राजनीतिलाई नियाल्दै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरे, जसले राजनितीमा प्रजातन्त्र र आर्थिक सिद्दान्तमा समाजवाद स्वीकार्छ । उनको सिद्दान्त र उनले नेपालको अर्थ राजनीतिमा र कुटनीतिमा गरेको योगदानको आलोकमा हेर्दा नेपाली कांग्रेस पनि वामपन्थी दल नै हो भन्न सकिन्छ । तर, आजको नेपाली कांग्रेस विपिको सिद्दान्तभन्दा धेरै टाढा गैसकेको छ ।
भनिन्छ( सामाजिक जीवनका कथाहरुले(नेरेटीवस्) राजनैतिक विचारधारा निर्माण गर्दछ । आन्तरिक रुपमा सामन्तवाद र वाह्य रुपमा अर्धउपनिवेशि भएको मुलुकमा सामाजिक न्याय, आर्थिक समता सहितको समाज निर्माणको नारा घन्काय नेपालका कम्न्युनिष्टहरुले । विश्वको कम्युनिष्ट आन्दोलन, २००६ साल देखि २०२७ साल सम्मको कम्न्युनिष्ट पार्टी र नेताहरु तथा २०२८ सालको झापा बिद्रोह, अन्य विद्रोहहरु, नेताहरुको योगदान, सस्कार र संस्कृतिको कथा उनेर नेपाली युवाहरुलाई आकर्षण गर्यो र गाउँका श्रमिक युवा देखि विश्वविद्यालयमा अध्ययनरत युवाहरुलाई वामपन्थी विचारधारामा मोहित गरी आन्दोलनमा होमिन प्रेरित गर्यो । २०४६ सालमा लोकतान्त्रिक र वामपन्थी शक्तिको सयुंक्त आन्दोलनको सफलता पश्चात निर्वाचनमा विभिन्न अवोरोधको वीचमा पनि नेकपा एमालेले उल्लेखनीय सफलता हासिल गरी प्रमुख प्रतिपक्षको भूमिकामा रहयो तथा निजीकरण र उदारिकरणको वेबको कारण नेपालको आर्थिक नितिले आम गरिव, उत्पीडित समुदायमा नछुदा, ती वर्ग वामपन्थी समुदायमै रहन गए । विश्व परिस्थितिलाई मध्यनजर गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले मध्यम वर्गलाई पनि आकर्षण गरी वामपन्थी आन्दोलनलाई थप उचाइमा पुर्याउन मद्दत पु¥यायो । २०५१ सालको मनोमोहन अधिकारीको सरकारको सामाजिक सुरक्षा र वितरणमुखी कार्यक्रमले लोकप्रिय भएको दल जव २०५४ सालमा ठूलो भयो तर नेतृत्वमा चरमबुर्जुवा प्रवृति, वर्ग रुपान्तरण र संसदीय विकृतिको संवाहकको रुपमा नेपालका वामपन्थी भनिएका दलहरु चिनिन थाले । नेपालमा वैदेशिक हस्तक्षेप् बढ्न थाल्यो, धनि र गरिबको खाडल बढ्न गै गिनी सूचांक फराकिलो भयो र नेपालमा अर्को कम्न्युनिष्ट पार्टीको नाममा भएको शसस्त्र युद्ध फस्टाउन थाल्यो । कृषिमा भूमिसुधार, वैज्ञानिक जनवादी शिक्षा र गुणस्तरीय स्वास्थ्य र सफा खानेपानीमा आम जनताको पहुँच सहित सर्वहारा बर्गको राज्य निर्माणको नारा सहित माओवादी आन्दोलनले नेपालको राजनीतिमा आकाश जमिन थर्काएको परिद्र्श्य थियो । नेता कार्यकर्ताहरुको त्याग, तपस्या र क्षति अतुलनीय थियो भने जनताको त्रास कहाली लाग्दो थियो । नेपालमा विकासको अबरोध पुरानो राज्य सत्ता हो भन्ने भाष्य निर्माण भएको अवस्थामा राज्यको पुनर्सरचानाको नाराले आम मध्यम बर्गको पनि मन छोयो । २०६४ सालपछि सत्तामा गएपछि नेकपा माओवादीको नेता र केहि सिमित कार्यकर्ताहरुको बुर्जुवाकरण र पुंजीबादीकरण ज्यामितीय दरमा वृद्दि हुन् थाल्यो, पार्टी विग्रहमा गयो, कोहि पलायन भए र कोहि खाडीको तातो मरुभूमिमा श्रमिकको रुपमा जान बाध्य भए । राजनैतिक परिवर्तनको पुंजी नेतृत्व लेखन थाले तर परिवर्तन पछिको समाज पहिलाको भन्दा विकृत, विसंगति र भ्रष्ट भएको पत्तै पाएनन् ।
२०७२ साल पछी सत्ता र शक्ति नहुने भयले नेपालमा विकास नहुनु अल्पमतको सरकार हो, चरम विकासको लागि वामपन्थी वहुमतको सरकारको भाष्य निर्माण गरियो । समृद्द नेपाल , सुखी नेपालीको नारा अघि सारी आम कार्यकर्ताहरुलाई चुनाबमा होमियो । अब हिजोको सपना सबै पुरा हुन्छन र समाजवादी मुलुकको रुपमा इन्जोय गर्न पाइन्छ भन्ने आम मानिसको बुझाई थियो । हिजो माथिका नेता मात्र भ्रष्ट देखेका आम मतदाता आज तलका नेता र कार्यकर्ता देखि माथिका नेतासम्म चरम सामन्ती, दलाल पुँजीवादी र भ्रष्ट देख्दा रिस र लाजले मुर्छित देखिन्छन् । नेपालका बामपन्थी दलहरु वैचारिक रुपमा स्खलन र सांगठानिक रुपमा क्षतविक्षत भैसकेका छन्, गुट स्वार्थको रुपमा सक्रिय बाहेक । नेपालमा आज वामपन्थी सरकार भएको तीन बर्षको अबधिमा वैदेशिक ऋण दोव्वर भएको छ तर पुंजी निर्माणको गति न्यून छ । देश गरिब तर व्यक्ति धनीभएको कारण धनी र गरिब वीच खाडल बढ्दो छ । आफैले शिक्षा र स्वास्थ्यको निजीकरणलाई फस्टाएका छन् । शिक्षा, स्वास्थ्य र अनुसन्धानमा लगानी नगरी अरबौं रकम भ्युटावरमा खर्च गरी जग्गा दलालीलाई फाइदा पुर्याउने काम गरेको देखिन्छ । अनि भन्छन समाजवाद उन्मुख सरकार छ नेपालमा ।
वामपन्थीहरुको विचार बोकी हिड्ने सर्वहारा डा. गोविन्द केसीको माग पुरा गर्न त परै जावस उसलाई कारवाही गर्न पनि पछी परेनन्, जसको परिणाम आज आम नेपालीले मानवीय स्वास्थ्य संकट भोगिरहेका छन् । यो संकटको भूमरिमा पनि सत्ता खेलमा निर्लज्ज छन्, यी वामपन्थी भन्ने दलहरु । वैदेशिक लगानिको नाजुक अवस्था र राजनैतिक अस्थिरता हेर्दा मुलुकको कुटनीतिक क्षेत्र अहिले असम्मको सवभन्दा कमजोर देखिन्छ । देशभित्र रोजगार नपाएर विदेश जानेको लर्को छ, नेपालमा । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् १९९० मा करिब ४ हजारले श्रम स्वीकृत लिएका थिए भने आज वार्षिक करिब ४ लाख ५० हजारले वैदेशिक रोजगारको श्रम स्वीकृति लिने गर्छन । यस वाहेक भारतमा लाखौ अदक्ष श्रमिकहरु रोजगारका लागि गैरहेका छन् । तसर्थ, नेपालका वामपन्थीहरुको समाजवाद, समृद्धी र विकासको सपना दस्तावेज र चुनावी घोषणा पत्रमा सजाउने वस्तु मात्र भएका छन भनि आलोचना गर्नेको लागि ठाउँ प्रसस्त छ । भारतीय लेखक रजनी कोठारीले भने जस्तै नेपालमा पनि वामपन्थी आन्दोलनले धेरै अघि देखि नै आफ्नो समाजवादी चरित्र गुमाईसकेको थियो । यस्तै अर्थ-राजनैतिक चरित्र बोक्ने हो भने कम्युनिष्ट पार्टी मिल्नु वा फुट्नुको कुनै अर्थ छैन ।
भनिन्छ– योजना विनाको कार्य समयको बर्बादी हो, कार्यान्वयन विनाको योजना दिवा सपना हो तथा कार्यान्वयन सहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ । यी सपनालाई साकार वनाउन नयाँ शिराबाट लोकतान्त्रिक वामपन्थी शक्ति निर्माण हुन्छ वा कोरा सपनाबाट नेपाली जनता मुक्त हुने छन, यो समयले नै बताउला ।
( लेखक,अर्थशास्त्र विषयमा एमफिलकोस्कलर हुन्,)
वि.सं.२०७८ वैशाख २५ शनिवार ०९:०५ मा प्रकाशित






























