
२५ बैशाख, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा शनिबार गोली लागेर एक नेपाली युवाको मृत्यु भएको छ ।
शनिबार बिहानै गोली चल्दा एकको मृत्यु भएको र अर्का नेपाली घाईते भएका छन् ।
बाल्टिमोर एसोसियसन अफ नेपलीज इन अमेरिका (बाना) का अध्यक्ष सुबोध विलास पन्तका अनुसार मृत्यु भएका २४ वर्षीय नेपाली युवाको पूर्ण पहिचान भइसकेको छैन । उनी संखुवासभाका रहेको बताइएको छ भने घाईते २६ वर्षीय युवा सर्लाहीका रहेको बताइएको छ ।
घटना लगत्तै घटनस्थलमा पुगेका अध्यक्ष पन्तका अनुसार मृतक युवा क्यारोलाइनाबाट स्नातक सकेपछि १० दिन अगाडि मात्र बाल्टिमोर आएका थिए । उक्त घटनामा घरमा आगो पनि लागेकोले एक नेपालीको घर पूरै ध्वस्त भएको र अन्य दुई घर पुरै र दुई घर आशिंक रुपमा जलेका छन् ।
गोली लागेर अन्य देशका तीन नागरिक मारिएका छन् । उनीहरुमा २ जना स्पेनी र एक अस्वेत नागरिक भएको बताइएको छ । बन्दुकधारीले त्यहाँ रहेका अन्य नेपालीलाई पनि खेदेको र उनीहरु भागेर ज्यान बचाएको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।
प्रहरीले यस घटनाका बारेमा अनुसन्धान गरिरहेको र मृतक नेपाली युवाको परिवारलाई नेपालमा सम्पर्क गर्ने प्रयास भइरहेको पनि अध्यक्ष पन्तले जानकारी दिएका छन् ।
बानाले छिमेकी व्यक्तिले गोली चलाउँदा एक नेपाली युवाको मृत्यु भएको, एक नेपाली घाईते भएको तथा बानाका आजीवन सदस्यको घर आगलागीका कारण पुर्णरुपमा नष्ट भएको भन्दै दुःख व्यक्त गरेको छ । बानाले बिशेष कारणले घटनामा मृत्यु भएका तथा पीडितहरुको नाम विेशष कारणले सार्वजनिक गर्न नसकेको बताएको छ । सांकेतिक फोटो