
वैशाख २६, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्व फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षर छ ।
यसअघि अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन वैशाख १९ मा पोखरेलले चलाखीपूर्णं रुपमा राजीनामा दिँदै पुनः प्रदेश प्रमुखको सहायताले बहुमत भए नभएको टुंगो नै नलगाई मुख्यमन्त्री बनेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।
अविश्वासको प्रस्तावमा दलहरुले हाल कायम प्रदेश सभामा पोखरेलसँग बहुमत नभएको दाबी गरेका छन् । पत्रमा पोखरेल आवद्ध नेकपा (एमाले)सँग हाल ३८ जना मात्रै सांसद रहेको हुनाले संविधानको धारा १६८ को उपधारा १ बमोजिम एकल बहुमतको प्रदेश सरकार बनाउन नमिल्ने बताएका छन् ।