
२७, बैशाख, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले संसदबाट मागेको विश्वासको मतमा आज मतदान हुने भएको छ । प्रधानमन्त्री ओलीले आजको संसदको बैठक विश्वासको मत लिने प्रयोजनकै लागि बोलाएका हुन् । संसदको बैठक दिउसो १ बजे बस्ने कार्यक्रम तय गरिएको छ ।
मतदानमा कोरोना संक्रमित भएका सांसदहरुले समेत मतदान गर्न पाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले मागेको विश्वासको मत विरुद्धमा मत हाल्ने विषयमा नेपाली कांग्रेश र नेकपा (माओवादी केन्द्र)ले निर्णय गरिसकेका छन् । अहिले संसदमा नेपाली कांग्रेशको ६१ नेकपा (माओवादी केन्द्र)को ४९ जना सांसद रहेका छन् ।
यस्तै ३२ जना सांसद भएको जसपाले आफ्ना सांसदहरुलाई मतदानको लागि ह्विप जारी नगर्ने निर्णय गरेको छ । जसमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदहरुले प्रधामन्त्री ओलीको पक्षमा मत हाल्न सक्ने अनुमान गरिएको छ ।
नेकपा (एमाल) कै खनाल नेपाल पक्षधर पक्षधर सांसदहरुले संसदमा आफुहरुलाई कसरी प्रस्तुत गर्छन भन्नेबारेमा पुष्टि भइसकेको छैन् । माधव नेपालले ६ बुँदे प्रस्ताव राखेर प्रधानमन्त्री ओलीलाई हिजो साँझ मात्रै पत्र पठाएका छन् । खनाल नेपाल पक्षले आज विहान ९ बजेसम्म प्रधानमन्त्री ओलीको धारणालाई हेरेर निर्णय गर्ने जनाएको छ ।