२९, बैशाख, काठामाडौं । काठमाडौं उपत्यकामा आजदेखि पुनः १५ दिनको निषेधआज्ञा थप गरिएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सो अवधिमा नागरिकहरु अत्यावश्यक बाहेकका सेवा लिन बाहेक बाहिर हिंडडुल गर्न पाउँदैनन् । खाद्यान्न, औषधी उपचार, उपभोग्य वस्तु लगायतका सेवा लिन मात्रै हिंडन सक्नेछन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द गर्न भनिएको छ । साथै सञ्चालन गर्नुपर्ने कार्यालयमा न्युन जनशक्ति उपस्थित भएर सञ्चालन गर्न आदेश जारि गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स ९खाद्य सामग्री मात्र बिक्री गर्न खुला हुनेछन् । मानिसको भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।
साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार ०८:१२ मा प्रकाशित






























