बाघ, भालु र हात्तीसंग कुस्ती खेल्दै
गोडेका हुन् जङ्गल
हाम्रा पिता औ पुर्खाहरूले
रगत, पसिना र आँसु छिटेर
रोपेका हुन् विश्व विख्यात् चियाका झ्याङ्ग
अनि उमारेका हुन् ‘हरियो सुन’
दुई–पात, एक सुईरो
जो विश्व बजारमा महङ्गो भाऊ छ
तर,
पाखुरीको मोल भने किन सस्तो ?
प्रश्नहरू तेर्साइरहन्छ
बाजेका जीवाश्म र समाधिहरूले,
उनका मेहनत र मजदुरीहरूले
बगानको ल्हासामा फल्छ सुन्
तर,
कमानेको कान बुच्चै,
ठूला–ठूला कम्पनीहरूले भर्छ पेट
तर,
बिर्खेको भुँडी भोकै,
कम्पनीले भरेको हो कि कमानको पेट
कमानले भरेको हो कम्पनीको पेट ??
सोधी बस्छ,
आत्मसम्मानहरूले
हो, सोध्छ,
परिश्रमहरूले
सलामका हकदार हुन्
बिर्खे काका !
प्रशंसाका अधिपति हुन्
हर्कमाया काकी !
भोक–प्यास, इच्छा–आकांक्षा
लोभ र लाभ सबथोक थन्काएर
रोपीबस्छन्, टिपीबस्छन् ‘हरियो सुन !!’
वि.सं.२०७८ जेठ १ शनिवार ०६:४५ मा प्रकाशित






























