back

कथाः गन्तव्य बिहीन

वि.सं.२०७८ जेठ १ शनिवार

696 

shares
GLOBAL IME AD
NTC AD

निरीह हुँदै हिडेको बाटो लाग्छ उनलाई गन्तव्य बिहिन जस्तो आफुले आफैंलाई । जति हिड्यो उति उति रमाइ रमाइ दौडन्छन् निर्जीव बस्तुहरु मानौ उनीलाई नै गिज्याउँदै । कति अनौठो संसार, अनि अनि कति स्वतन्त्र छन् यी बस्तुहरु । न कुनै चिन्ता न खुसी यीनीहरुका न त गन्तव्य नै पहिल्याउनु पर्ने । यो बाटो, बाटोमा भेटिएका ढुङ्गा, फोहोरका डङ्गुर, जतासुकै फालिएका खाली शिसी, कागज र प्लास्टिक । दाज्न नचाहेकी पनि होइनन् आफुले यि बस्तुहरुसङ्ग आखिर म सजिव हुनुको अर्थ के रहयो र ! जब आफु नै अर्थहिन र आफ्नो लक्ष्य गन्तव्य बिहिन भएपछि ।

‘उफ ,…….आज यो बाटो, किन लामो लाग्दैछ ।’ सायद जानू मन छैन, जहाँ पुग्नु जरुरी छ । सुस्केरा हाल्दै, अनुहारमा चिटचिट आएको पसिना पुस्छीन् । हुन त चैतको महिना त्यति गर्मी भइसकेको छैन न त चर्को घाम पसिनै आउने । तर उनलाई भारी भएको छ शरीरमा लाएका लुगा, अनि पोलेको छ चैतको मधुरो घामले भन्दा हाते ब्यागमा भएको पैसाले ।
‘ओए केटी, खुबै आमालाई सन्चो गराउछु भन्दै हिडिछेस् । यति धेरै पैसा कसरी आएको छ थाहा छ तलाई ? जब आमालाई सन्चो हुन्छ लूटपुटिन्छेस् कुन मुखले आमाको काखमा । जति आमाको नजिकमा जान्छेस् त्यति त्यति घिनाउने छेस् आफुले आफैंलाई । निशब्द हुने छेस जब कि आमाले औषधि गर्न यतिका धेरै पैसा कहाँ बाट आयो भन्दा कुनै उत्तर हुने छैन तँ सङ्ग त्यो बेला के गर्छेस तँ ?’

ब्याग भित्र भएका पैसाले यसरी गिज्याए जस्तो लाग्दालाग्दै पनि पाइला चाल्न बाध्य थिइन लाचार हुँदै । आँखाबाट आँशु झारी धमिला भइसकेका बाबा र दाजुको तस्बिरलाई सम्झिन । उहाँहरु भइदिएको भए सायद आज यो दिन आउँदैन थियो होला ।

‘सम्झना’ आहा ! कति राम्रो नाम बोलाउदा मीठो सुनिने । गहुँगोरी, कलकलाउदी, लामो केशरासी, कोमल गुलाबी ओठ, मृग नयन आँखा अनि चट्ट मिलेको शरीर । सम्झनाको रुप र स्वभावको वर्णन सायद उनका आफन्ती र चिन्ने जान्ने सबैले गर्न भ्याइसकेका थिए । भनिन्छ राम्रो मान्छेको भाग्य हुदैन रे । रोपेको फुल गोडमेल गरी मलजल हालेर जब कोपिला लागि फक्रनै लाग्छ अनायसै चुडिन्छ ताकि फक्रिएपछिको सुवास छरिन नपाओस् । त्यस्तै अभिशाप बनेको थियोे सुन्दर रुप र आफ्नो शरीर आफुले आफैंलाई सम्झनाको लागि ।

जीवन र मृत्युसङ्ग संघर्ष गर्दै अर्धचेत अबस्थामा अस्पतालको शैथ्यामा रहेकी आमा त्यसपछि आएका समस्यै समस्याका चाङ्गहरु । के गर्ने कसो गर्ने इन्तु न चिन्तु भएकी सम्झनाका अव्यक्त मन भित्रका कुन्ठाहरु व्यक्त गर्ने थिएन ठाउँ कतै पनि । बाबाले संसार छोड्दा सानै थिइन् । बाबाको माया ममताको छहारीमा रुमल्लिन पाइन् न त बाबाको औलि समाएर हिड्न नै । मात्र बाबाको अनुहार भित्तामा मालाले सजिएको फोटो हेरिन् उनी बुझ्ने भएपछि । दाजु थिए तीन बर्ष फरकका । बाबाले गर्ने काम अनि बाबाले दिने मायाको अभिभारा आमाको काधमा थोपरिएको थियो । बिचरी आमा दुई लाला र बाला बैशमै बिधवाको पहिरन सायद भगवानले पनि आँखा चिम्लिदिएका थिए ।

दुःख– सुख बाँडेर आमासङ्ग हुर्कदै गएका दाजुबहिनीको जीवन धेरै नै दर्दनाक थियोे । जति बित्दै जान्थे दिनहरू उति उति उनीहरुका इच्छा आंकक्षा हावामा विलीन हुँदै जान्थे सङ–साथीहरुको रहन– सहन भन्दा बेग्लै परिवेश सङ्गै । उस्तै थियो हालत आमाको पनि । लाँउलाँउ खाँउखाँउ कै उमेरमा हातका नाडी भरी लगाएका चुरिहरु फुटिनु, सिउदोको सिन्दुर पखालिनु, अनी रङ्गिन पहिरन उतारी सेतोमा परिणत हुनु । जब निदाउँथे उनिहरु तब आमा आँशुका धारा बगाउँथिन् ताकि उनीहरुले नदेखुन आमाका पीडाहरु ।

समय बित्दै गयो । दैबको लिला पनि त्यस्तै छ जो छ सहारा बिहिन उसैलाई घरीघरी परिक्षा लिइरहने । फेरि पर्यो ठुलो बज्रपात त्यस् परीवार माथि । ‘ओरालो लागेको मृगलाई बाछोले खेद्छ’ भने झैँ आमाले नभ्याउदा कपाल कोरिदिने, स्कुलको कपडा लगाइदिने अनि हात समाइ डोर्याउदै स्कुल लैजाने दश बर्षे दाजुलाई खोसेर लगिदियो घर छेवैको अर्कैको माछा पाल्ने पोखरीले । आमा रोएकी थिइन् छाती पिटिपिटी ‘हे भगवान, दुःख मलाई दिएकै थिइस् अहिले फेरि थपिदिइस,अलिकति पनि दयामाया छ भने अझै थपिदे मै माथि ।’ छाती पिटिपिटी आमा रुदा त्यसबेला मुकदर्शक बनेकी सम्झनालाई त्यस्तै भयो नफक्रिएको कोपिला हाँगा सहित लुछिए जस्तो लुछिदा बाध्य भइ टुलुटुलु हेरिरहे टेबल, सोफा, दराज अनि ति भित्ताहरुले । निर्जीव थिए ती सबै गर्न पो के सके र आखिर एउटा निर्दयी नरपंशु पिशाचको अघि ।

‘जति बेला पैसाको आबश्यक्ता पर्छ तिमीलाई निर्धक्क आउ मेरो घरमा र लिएर जाउ ।’ मौकाको फाइदा लुटेर पोल्टो भरी पैसा राखिदिँदा भाउन्न भएको थियो सम्झनालाई । ओठ मुख सुकेर भारी भएको थियो शरीर । अर्धचेत आमाको तस्बिर एकातिर भने, सकिएको आफ्नो अस्तित्व अर्कोतिर ।
मात्र एकैछिन अघिको कुरा ….।

आमालाई भेट्न आएका छर–छिमेकी र आफन्तहरु, उनीहरुबाट पाएको सहानुभूति र थोरै–थोरै आर्थिक सहयोग अनि अस्पतालमा बिरामी आमाकी कुरुवा सम्झना । निकै दर्दनायक देखिन्थ्यो जो कोहीले देख्दा । स्वच्छ मनकी सम्झना छिमेकी काकाले पैसा लिन बोलाउदा खुशी थिइन् । बिरामी आमाको स्वास्थ उपचार अनि आयस्रोतको कमि यस्तो अबस्थामा कसैको सानो सहयोग पनि कति पर्याप्त हुन्छ त्यसमा पनि आफ्नै छिमेकी काका नाता पर्ने । सहयोगीको गिद्दे नजर मेरो शरीरमा छरिएको छ भन्ने के थाहा । आमालाई अस्पतालमै छोडेर गइन मनभरी आशा र खुशी बोकेर ।
काकाको घर पुगेर निर्धक्क हुँदै बोलाइन् । सुनसान थियोे घर । बाहिर कोही ननिस्कदा मन अलिकति खल्लो र डरको आभास पनि भएको थियो । उनले बोलाएको सुनेर आवाज आयो भित्रबाट ।

‘नानी, आयौ ।’ स्वर थियो काकाको ।
‘हजुर ,काका ।’
‘आउ भित्रै’
निशंकोच पसिन भित्र ‘काका, काकी खोइ त ? भाइ बहिनी पनि देख्दिन’ भन्दै ।

कता– कता मन चिसो भयो । सम्झनाको हात समातेर नबोल्ने इशारा गर्दै आफ्नो कोठाभित्र लगेर चुकुल लगाए । बेसाहरा सम्झनाका हात गोडा गलेर आए । ओठ कामे । कोठाका सर–सामान घुम्न थाले मानौ ठुलो भुकम्प आए झैँ । आँखा धमिलिदै गयो । सानोमा उनकै छोराछोरी सङ्ग खेल्दा चक्लेट दिने छिमेकी काका को अनुहार राक्षस जस्तो देखिँदा देखिदै लडेकी सम्झनाले पत्तो पाइनन त्यसपछि के भयो ।

पैसाले भरिएको सानो हाते झोला बोकेकी सम्झनालाई बिरामी आमाको मायाले ताने पनि मन कति थिएन छिटो छिटो हिडेर आमा भएको ठाउँमा पुग्न । न त मन ओछ्यान भरि छिरल्लिएका पैसा बटुली औषधि किनेर आमालाई सन्चो गराउन । आमा बिरामी भए देखिको चिन्ता, अनिदो आँखा बेटुङ्गोको खुवाइ त्यसमा अस्तित्व बिहिन शरीर कसरी पो धानोस् । धङधङाउदै हिड्दा ढुङ्गामा ठेस लागी चुच्चो ढुङामा टाउको बजारिन पुग्यो । ह्वाल ह्वाल्ति बग्यो रगत ।

‘सम्झना, तिमीलाई हामीले तिम्रो गन्तव्य सम्म पुर्याउन सकेनौ है’ भन्दै थियोे समय र परिस्थितिले । त्यतिकैमा मान्छेको भिड बढ्यो ।

‘यिनी त सम्झना पो रहिछिन । ल हेर, आमा अस्पतालमा बेहोस छिन । पैसा लिन गएकी छोरी खोइ अहिले सम्म आइनन भन्दै थिए नर्स र डाक्टरले ।’ त्यही भिड मध्ये एउटी नारीको स्वर सुनिदै विलीन भयो । सानो पैसाको ब्याग सम्झनाको हातमै च्यापिएको थियो । हेर्दाहेर्दै बन्द भयो मृग नयन आँखा अनि निलो हुँदै गयो गुलाबी ओठ ।।।

वि.सं.२०७८ जेठ १ शनिवार ०६:५४ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...