कनका तटको माघे-मेला हेर्न भनीकन,
मुनि नारदजी सोझै आए सङ्क्रान्तिका दिन ।१।
जाडो धेरै भएकाले मुख-स्नान पुरा गरे,
गायत्री नजपी कन्दमूल दोकानमा झरे ।२।
बासी तरुल किन्नेको अति नै घुइँचो थियो,
पङ्क्तीबद्ध भई लाम नलागी नहुने भयो ।३।
बिस- पच्चिस क्रेताका पछि नारद ठिङ्गिए,
बिस-पच्चिसका क्रेता सबै युवक नै थिए ।४।
आधा-घण्टा ठिङ्गिएर पुगे तरुलमा उनी,
विक्रेता युवती देखी झन्नै मूर्छा परे पनि ।५।
जाबो तरुल-विक्रेता यस्ती राम्री भएपछि,
कस्ताले बेच्दछन् होला रसदाना, कुराउनी !६।
तीन छक्क परी हेरे युवतीका मुहारमा
भने यी वसुधा-देवी होलिन् मेरा विचारमा ।७।
चोलो कस्तो लगाएकी यिनले रहिछन् भनी,
केही तल दिए दृष्टि, अझ छक्क परे उनी ।८।
अपूर्व वक्षमा देखे आँखीझ्याल दुवैतिर,
बाफरे बाफरे भन्दै लडे झन्डै त्यहींनिर ।९।
त्यहाँ नारदले योग, ज्ञान, ध्यान सबै कुरा
चटक्क बिर्सिए हेरी तिनै युवतिका लुगा ।१०।
ढोका खुला छ जङ्घामा जानुमा छ छियाछिया,
यत्रतत्र छ लागेको नयाँ पत्लुनमा खिया ।११।
भने, नेपाल नै एक यस्तो समृद्ध देश छ,
कनका नगरीभित्र पनि क्या च्वाँक ड्रेस छ ।१२।
इन्द्रका स्वर्गमा यस्ता ड्रेसका युवती भए,
सर्वदा तिनकै ड्रेस हेरी मन भुलाउँथें ।१३।
सधैंसधैं गुन्यूचोली स्वर्गमा लाउँछन् अब–
भने यो ज्यान बस्दैन त्यहाँ, झर्छ यतैतिर ।१४।
साँच्चै यो भिडिओ हो वा सपना हो कि वास्तव !
भन्दै लहर छेकेर उभिए ठिङ्ङ नारद ।१५।
धेरैबेर भयो सुड्डा, के हेर्छस् परजा ! भनी
ठेल्यो युवकले, ड्याङ्ङ लडे हाम्रा महामुनि ।१६।
उठी लर्बरिंदै लाम लागे फेरि त्यहीं गई,
फोन आयो स्वर्गबाट, थुक्क ! भन्दै फिरे उनी ।१७।
वि.सं.२०७८ जेठ १ शनिवार ०६:५६ मा प्रकाशित






























