१
भ्रष्टाचार अगाडि छ जनता मारमा छन्
मेरो देश पछाडि छ जनता मारमा छन्
के खबर पठाऊँ र देशको तिमीलाई
सरकार गफाडी छ जनता मारमा छन् ।
२
दक्षिण अफ्रिकामा हेर, गोरो गयो कालो आयो
विकसित देशहरूमा, जनताको पालो आयो
तर हाम्रो देशमा भनेँ परिवर्तन खासै छैन
भिनाजु गएपछि, त्यही पदमा सालो आयो ।
३
पहिला चुचो जोडे पछि बाङ्गिए सकिन्छन् अब
वारि र पारि भएर झाङ्गिए, सकिन्छन् अब
लाज सरम भन्ने कुरा जनतालाई मात्र लाग्ने हो
यिनीहरू सडकमा आए नाङ्गिए सकिन्छन् अब ।
४
तिमीले जस्तो हरदम मुखमा गाली राख्न भाको छैन
एउटा मात्र काखी च्यापी ताली राख्न भाको छैन
आओ निर्लज्ज हो तिम्रो लाज पचाएर आओ
के गरून् जनताले देश खाली
राख्न भाको छैन ।
५
तँ बदाम होस म हूँ काजु कहिलेसम्म चल्ला ?
तँ भाइ हुनु म तेरो दाजु कहिलेसम्म चल्ला ?
मेरा कदम सामु किन सधैँ पर्खाल हुने गर्छस्
यस्तो बिभेद जोख्ने तराजु कहिलेसम्म चल्ला ?
वि.सं.२०७८ जेठ १ शनिवार ०७:०५ मा प्रकाशित






























