१ जेठ, काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले अब सबैकुरा छोडेर कोरोना महामारीसँग जुध्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।
नेता थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुपनि अबका केही समय प्रधानमन्त्रीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्नका लागि प्रधानमन्त्रीलाई साथ दिने बताएका छन् ।
‘प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीमा तपाईको पुर्ननियुक्तिसँगै कोरोना महामारीको महायुद्धको सेनापतिको जिम्मेवारी तपाईको काधमा आएको छ,’ भिडियो सन्देशमा नेता थापाले भनेका छन्, ‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइसक्यौ । अझ कति गुमाउनुपर्ने हो थाहा छैन । ती मध्ये धेरैलाई बचाउन सकिन्थ्यो, अझै पनि बचाउन सकिन्छ । काम चाहिएको छ प्रार्थनाले मात्र सम्भव छैन, तपाई हाम्रो प्रयत्न चाहिएको छ । त्यसैले पुर्ननियुक्त हुनुभएकोमा म मेरो प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहान्छु, अब मात्र केही दिन पार्टीभित्रको विवाद चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुस् ।’
उनले केही दिनलाई सभा, सम्मेलन भेटघाट, शिलान्यास सबै रोकेर मन, ध्यान र सम्पूर्ण शक्ति, समय सबै महामारीविरुद्धको युद्धमा लगाउन समेत अनुरोध गरेका छन् ।
वि.सं.२०७८ जेठ १ शनिवार १५:५५ मा प्रकाशित






























