२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले भेटेको बताएका छन् ।
डा. भट्टराईले महाविपत्ति उन्मुख देशलाई निकास दिन ओली हैन देशका प्रधानमन्त्रीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन् ।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो,’ डा. भट्टराईले सामाजिक संजाल ट्विटमार्फत् भनेका छन्, ‘मैले वर्तमान\पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ ।सोचौं !’
एमालेका नेता महेश बस्नेतले डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुपर्यो भन्दै डा. बाबुराम भट्टराई २ पटक प्रधानमन्त्री निवास बालुवाटारमा राति १ बजे पुगेको भनेर शनिबार एक टेलिभिजनलाई दिएको अन्तवार्तामा सो कुरा खुलाएपछि डा. भट्टराईले आइतबार बिहान यस्तो स्पष्टीकरण दिएका हुन् ।
वि.सं.२०७८ जेठ २ आइतवार ०८:५० मा प्रकाशित






























