३ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न अप्ठ्याराका बावजुद पनि कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढिरहेको बताएका छन् ।
२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले नेता मदन भण्डारी र जीवराज आश्रीतको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि अपुरणिय क्षति र धक्काको विषय भएको बताएका छन् ।
‘कतिपय विरोधिहरुले उहाँहरुको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणी गरेका थिए । तर ती सबै अनुमान र भविष्यवाणीहरु व्यर्थ सावित भएका छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौं । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियामा गुज्रेका छौ । यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाईतिर अगाडि बढिरहेको छ ।’
प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र जनताका प्रतिनिधिद्धारा प्रगतिशील संविधान जारी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तीनवर्ष अघि आजैका दिन नेकपा एमाले नेकपा माओवादी केन्द्र बीचमा पार्टी एकिकरण गरिएको भएपनि कतिपय विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण यो सफल हुन नसकेको समेत बताएका छन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख रहेका जीवराज आश्रितको २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो । सोहिदिनलाई हरेक वर्ष मदन–आश्रित स्मृति दिवसका रुपमा मनाउने गरिएको छ ।
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन वरिष्ठ नेता नेपालको आग्रह
वि.सं.२०७८ जेठ ३ सोमवार ०९:१० मा प्रकाशित






























