
जेठ ३, काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले मतदान गर्ने भएको छ । माओवादी केन्द्रका बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, प्रदेशसभाका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सोमबार संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै देवकोटालाई जिताउन आव्हान गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र, समर्थकमा नेपाली कांग्रेस रहेको छ । तर, नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षीय देवकोटालाई उनकै समूहले भने साथ नदिने देखिएको छ । माधव पक्षका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक रुपमा देवकोटा आफ्नो उम्मेदवार नभएको बताएका थिए ।
जेठ ६ मा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा (एमाले) एकतिर र अन्य दल अर्को तिर छन् । नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई अगाडि सारेको छ ।
यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभाका एमालेका उम्मेदवार रामबहादुर थापा बादल प्रतिगमनकारी तत्वको मतियार र गणतन्त्र तथा संघियता विरोधी भएको आरोप लगाएको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको विज्ञप्तीमा उनको पक्षमा मतदान नगर्न आव्हान पनि गरिएको छ ।
वि.सं.२०७८ जेठ ३ सोमवार १७:४६ मा प्रकाशित