back

गाउँभरि ज्वरोका बिरामी, परीक्षण भए जतिमा कोरोना सङ्क्रमण

वि.सं.२०७८ जेठ ४ मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

जेठ ४, पाँचथर । गाउँबाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका– ५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको सुरूआत खोज्न थाल्यो ।

यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो ।

स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो ।

आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड– १९ सङ्क्रमण पुष्टि भयो ।

आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो ।

‘घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ,’ स्थानीय दिलकुमार खुदाङले भने, ‘धेरै जना हुँदा भौतिक दूरी कायम गरेर बस्न र राख्नसमेत गाह्रो परिरहेको छ ।’ मास्क र स्यानिटाइजरसमेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ ।

‘गाउँभरि १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड– १९ सँग मिल्ने लक्षण देखिएका छन्,’ खुदाङले भने, ‘निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौँ ।’

कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदासमेत सरकारी निकायले पर्याप्त चासो नदिएको उनको गुनासो छ ।

सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ– ३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड– १९ पुष्टि भयो । हिलिहाङ– ३ का स्थानीयवासीसमेत रहेका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भने, ‘परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्सजस्ता स्थानीयस्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।’

हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरू पनि हिलिहाङ– ५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयको अनुमान छ ।

हिलिहाङ– ५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड– १९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् ।

‘हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन,’ स्थानीयवासीसमेत रहेका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भने, ‘अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरूमा कोरोना सङ्क्रमण देखिएको छ ।’

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताउँछन् ।

सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।

गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताए । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताए ।

‘तर गाउँबस्तीमा सङ्क्रमित थपिँदै जाँदा चुनौती थपिएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड– १९ सङ्क्रमण देखिएको बताए ।

ढकालले भनेजस्तै फिदिम नगरपालिका– ११ नांगीन, याङवरक गाउँपालिका– १ च्याङथापू, फालेलुङ गाउँपालिका– २ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ ।

यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन । रासस

वि.सं.२०७८ जेठ ४ मंगलवार ११:३९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...