जेठ २५, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने जानकारी प्रदेश सभा सचिवालयलाई गराएका हुन् ।
उनी गत वैशाख २९ मा प्रदेशसभाका सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत पाउने सम्भावना कम
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङ्गसँग मात्रै २८ मत छ । उनलाई संसदमा बहुमत देखाउन थप ३ मतको आवश्यकता पर्दछ ।
प्रदेशसभामा सत्तारुढ एमालेको पक्षमा स्वतन्त्रसहित २८, कांग्रेससँग १५, माओवादीसँग १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादीसँग दुई सांसद छन् ।
प्रदेशसभामा राजमो निर्णायक अवस्थामा छ । तर, यसअघि राजमोका सांसद विभाजित भएका थिए । राजमोको सांसदकै कारण विपक्षी गठबन्धन सरकार बनाउन असफल बनेको थियो ।
वि.सं.२०७८ जेठ २५ मंगलवार १५:१८ मा प्रकाशित