back

टिमको मेरो अनुभव : ‘लागेपछि जसरी पनि जितिन्छ’

वि.सं.२०७८ जेठ २९ शनिवार

156 

shares
NTC AD
Global IME AD

क्याम्ब्रीयन पेट्रोल भनिने कमान्डो प्रतियोगिता आयोजना गर्ने ब्रीगेडले ९ महिना अघि देखि तैयारी गराएको रहेछ, आफ्नो टीमलाई। अन्यलाई भने जम्मा २० दिन समय रहँदा सूचना पठाएछन्। हाम्रो ब्रीगेडमा आयो सूचना, र कुनैपनि पल्टनले ब्रीगेडको तर्फबाट प्रतियोगितामा भाग लिने आँट गर्न चाहेनन्।

म सेनामा हुँदाको कुरो। एउटा ब्रीगेडमा ३ वा ४ पल्टन हुन्छन्। डिभिजनमा पनि ३ वा ४ ब्रीगेड।
हाम्रो पल्टनलाई तोकिएछ। कमान्डिङ अफीसर (CO)ले मलाई बोलाउन भने। म भर्खरै कमान्डो कोर्समा मेडल र शील्ड जितेर पल्टन फर्केको थिएँ। मलाई एड्जुटेन्टले प्रतियोगिताको निर्देशन हातमा थमाउँदै भने CO wants to meet you.

मैले हेरें, सरसर्ती। आधा घन्टामा १५ पेजको निर्देशन ३ पटक पढें। केही मूख्य कुराहरु अन्डरलाईन गरें। नोट बनाएँ, अनि कमान्डिङ अफीसरको अफीसमा पुगें।

भित्र छिर्ना साथ बस्न भने सीओले। अनि सीधै कुरा शुरु गरे विषयमा -तिमीले हेरिसक्यौ, समय धेरै छैन र यिनीहरुले चिटिङ गरेका छन्। तर मलाई तिमीमाथि विश्वास छ। ब्रीगेडबाट हाम्रो पल्टनलाई प्रतिनिधित्व गर्न भनिएको छ। तिमी हाम्रो टीम लिएर जाउ। आई नो, यु विल डू योर बेस्ट! ‘मैले भनें – ‘हजुरको विश्वासको लागि धन्यवाद सर। म घातक प्लाटून जेसीओ र टीमका मान्छेहरुसँग छलफल गरेर साँझ हजुरलाई फेरि भेट्छु र आफ्नो पुरै योजना भन्छु सर। खासमा, हामी यहाँबाट टीम लिएर गईसकेपछि जसरी पनि जितेर आउने मनस्थिति बनाएर जानेछौं। तर त्यो भन्दा अगाडि मलाई के के चाहिन्छ भन्ने कुरा साँझसम्म योजना बनाउँछु।’

‘ओके। सी यु, इन द ईभिनिङ देन !’त्यति भनेर म सल्युट गरेर निस्कें।
टीमको अवस्था हेरें। ३२ जना हुन पर्ने कमान्डो टीममा त्यति बेला पल्टनमा १०(१२ जना भन्दा थिएनन्। बोलाउँदा नै पनि १५/२० दिन भित्र पुरै जम्मा हुनसक्ने अवस्था थिएन। अनि जति थिए – ती सबै कमान्डो प्रतियोगिताका लागि फिट हालतमा पनि थिएनन्।

लामो सास तानें। अब केही फरक तरिकाले नसोचि भएन भन्ने लाग्यो। उसैपनि पूर्व तैयारी बिना काम गर्न मलाई आँफैलाई बडो असहज लाग्छ। तर सँगसँगै जुनसुकै अपर्झट परिस्थितिमा पनि तुरुन्तै रिस्पोन्स गर्न सक्ने कला एउटा कमान्डोको मूख्य खुबी हो। मैले त्यही कमान्डो कोर्समा भर्खरै मेडल जितेर, साथै ईन्स्ट्रक्टर भएर आएको थिएँ।
अब केही फरक तरिकाले नसोचि भएन भन्ने लाग्यो। अनि मन दृढ बनाएँ।

साँझ फेरि कमान्डिङ अफीसरको अफीसमा पुगें।
‘सर, मैले प्रतियोगिताको नियम, प्रक्रिया र अरु टीमबारे जति जानकारी लिन सकिन्छ, लिएँ। अनि हामीसँग अहिले भएको टीम पनि हेरें। र यो प्रतियोगितामा विजेता टीम माथि जानको लागि रोजिने हो, त्यसमा हामी जसरी पनि पर्नेगरि जान्छौं। तर मलाई टीम बनाउन पुरै पल्टनको ८०० जना मध्ये रोजेर लिने सुविधा दिन पर्यो, अहिलेको कमान्डो प्लाटूनबाट मात्र होईन।’
‘कमान्डो प्लाटून भन्दा बाहिरको ले त झन् के गर्न सक्लान् र ? झन् यति कम समय भएको बेलामरु आर यु स्योर ?’
मैले भनें – हजुर। मैले धेरै सोचेर नै यो भनेको हुँ। यति छुट मलाई दिनुस्, nd I promise you, we will come back with victory.
‘ओके। गो अहेड। Send in the adjutant.’

त्यति भनेपछि मेरो तैयारी शुरु भयो। मैंले आँफुखुशी टीम रोज्न पाउने भएँ। यस्तो योजना बनाएं।
१२ जना चाहिने प्रतियोगिताको लागि मैंले शुरुमा १०० जना पहिलो चरणमा शारिरिक फिट्नेस, स्विमिङ र शूटिङ टेस्ट गरेर छान्ने। ती सयजनाबाट एटिच्युडको आधारमा बाहिर गर्दै जाने।

कति जना हरेक कुरामा फिट र अब्बल सैनिकलाई पनि मैले टीममा लिइन। उनीहरुको साना साना लक्षणले गर्दा टीममा काम गर्ने प्रवृति नभएको थाहा लाग्यो। अलिकति पनि आफ्नै तर्फबाट रुचि नभएकालाई राख्दै राखिन।

मेरो उद्देश्य स्पष्ट थियो । एउटा उच्च मनोबल भएको उम्दा टीम तैयार गर्ने जुन टीमले लीडरलाई समेत मोटिभेट गर्न सकोस्। अर्थात् मलाई पनि घचेटोस्।

मलाई यो कुरामा कुनै दुविधा थिएन कि एक्ला एक्लै कुनै खतरनाक हीरोले गर्दा टीम बलियो हुने होईन। टीम बलियो एकदमै साधारण मान्छेहरुको असाधारण मनोबल र साझा उद्देश्यले गर्दा हो।

सात दिन मलाई २४ जना रोज्न लाग्यो र बल्ल टीम तैयार भयो। अब हामीसँग मात्र १३ दिन थियो, अनि ३ दिनको बाटो रेलमा जानू पनि थियो।

हामी पुग्यौं । रेलको मिलिटरी डब्बामा चढेर, बिना रिजर्भेसन। पुगेर सरसमान सेटल गरेर बिस्तरा मिलाउन भन्दा अगाडि मैले टीमलाई प्रतोयोगिता हुने जंगलको रुट हेर्न लिएर गएँ, बेडिङ झोला पनि खोल्न नदिई।

मैले अनुभवबाट सिकेको छु .आफ्नो टेरेन अर्थात् काम गर्ने क्षेत्र बारे सूचना जति छिटो हुनसक्छ र जति नजिकबाट हुनसक्छ, लिनुपर्छ। त्यसपछि दिमागले आफ्नो हिसाबले त्यही लक्ष्य प्राप्तिका लागि सोच्न थाल्छ।

हामी ६ घन्टा सुतेर अर्को दिन गएर त्यो जंगल हेर्न पुगेको भएपनि हुन्थ्यो, तर म आफ्नो टीमलाई हामी त्यहाँ पुग्नाको कारण स्पष्ट पार्न चाहन्थें। र उनीहरुको शरीर र मष्तिषक दुवैमा यो सन्देश घुसाउन चाहन्थें कि We are bloody serious about winning. हामी खेलाँची गर्न आएको होईन। परिस्थिती जस्तो सुकै होस्, अरुले चाहे चिटिङ गरेका हुन् वा हामीलाई झालझेल गरेर कमजोर पारेका हुन् । त्यो सबैका बावजुद पनि जित्नका लागि अन्तिम साँससम्मको जोर लगाउने हाम्रो काम हो।

म दिन भरि टीम सँगै शारिरिक व्यायाम, रनिङ आदि गर्थें। दिउँसो ट्याक्टिकल ट्रेनिङ गर्थें गराउँथें। र उनीहरु आराम गरेको बेला राती ४/५ घन्टा लगाएर अर्को दिनको योजना, तथा प्रतोयोगित्ता सम्बन्धी विभिन्न रणनीति र हरेक साना साना टीमको जिम्मेवारी, प्रोग्रेस र त्यस्को मूल्यांकन आदि बनाउँथें। ४ घन्टा भन्दा निद्रा नलाग्ने कमान्डो ट्रेनिङले बनाएको थियो।
हरेक दिन बिहान एन्ड्युरेन्स मार्च ३५ किलो बोकेर १६ किमी दौडिएपछि हामी ब्रेकफास्ट पछिको दोस्रो सत्र्मा जान्थ्यौं।

शुरुवातमा म आफ्नो रातभरी बनाएको सामग्री टीमसँग शेयर गर्थें र उनीहरूको सरसल्लाह सुझाव लिन्थें। हरेक अभ्यास पछि हामी बसेर सबैको कमी कमजोरी र सुधार्न पर्ने कुरा र प्रतीयोगिताले खोजेको कुरा आदि गहिरो छलफल गर्थ्यौं।
सुस्त सुस्त टीमको हरेक सदस्यलाई जुनसुकै भूमिकामा राख्दा पनि काम गर्न सक्ने आत्मविश्वास विकसित हुन थाल्यो ३/४ दिनमा नै। २/३ घन्टाको अभ्यास सत्रहरु हामीले धेरै गर्थ्यौं।

र, ३ दिन लगाएर जब प्रतियोगिता भयो, हामी सबैले नोटिस गर्ने टीममा आईसकेका थियौं। तर ९ महिनाको तैयारी गरेको टीमसँग हामी अलि पछाडि परेका थियौं। प्रतियोगिताको अन्त्यमा मिसन सफल गरिएपछिको कमान्डरको ब्रीफिङ मैले दिन पर्ने थियो र त्यसपछि नतिजा घोषणा गरिने थियो।

मैले राम्रो तैयारी गरेको थिएँ, तर ३ दिनमा १०० किलोमिटर भन्दा बढी दुरी पैदल तय गरेको, त्यो बीचमा विभिन्न मिसन पूरा गरेको तथा निरन्तर जङ्गलमा रहेको त्यो अवस्थामा थकानलाई जितेर बृफिङ शुरु गर्नु अघि मेरो मनमा आयो । यो प्रतोयोगिता जित्न मेरो टीमले नै पाउन पर्छ। हामीले जति मिहिनेत गर्यौं, र यति छोटो समयमा बिना तैयारी जस्तो टक्कर दियौं, यदि हामीले नजिते अन्याय हुन्छ। तर मलाई थाहा भैसकेको थियो । मैले त्यो ब्रीफीङमा पुरै नम्बर लाउँदा र अर्को टीमले त्यसको आधा ल्याउँदा पनि हामी दोस्रो हुनेछौं।

मलाई चीटिङ भएको महसुस भयो, त्यति बेला बल्ल। बल्ल मलाई त्यो अन्याय प्रति रिस उठेको थियो। एक पलको लागि  किन यत्रो मिहिनेत गरियो होला भन्ने पछुतो मनमा छिर्यो। आँखा आँशुले भरिए। थकानले फतक्कै गाल्यो। खुट्टा लूला भए। तर त्यति नै बेला आफ्नो टीम तिर हेरें र देखें उनीहरु आफ्नो लीडरलाई एउटा यस्तो गर्वका साथ हेरीरहेका छन् जसको कुनै सीमा छैन। उनका आँखामा त्यो माया र सम्मान थियो । आफ्नो साथी प्रति मनैदेखि आउने। मानौं भनिरहेका थिए-तिमी नभएको भए हामी यो गर्न सक्ने थिएनौं।

मैले उनीहरुका लागि आफ्नो भएभरको तागत त्यो अन्तिम लडाइँका लागि लगाउनु थियो। अनि मैले आवाज दह्रो बनाएर आफ्नो ब्रीफिङ शुरु गरें।
….
हामी त्यो प्रतियोगितामा दोस्रो भयौं।
तर, पहिलो भएको टीमलाई सीधै माथि पठाउने नियम फेर्दै प्रतियोगिताको चीफ अम्पायरले २ महीना समय दिएर पहिलो र दोस्रो भएका टीमको फेरि प्रतीयोगिता गराउने र जुन टीमले जित्छ, उसलाई पठाउने अचम्मको निर्णय गरे।
भनीरहनु परेन, २ महीना पछि ठूलो अन्तरका साथ हामीले जित्यौं।

(लेखक, अवकास प्राप्त सैनिक अधिकृत हुन् ।)

वि.सं.२०७८ जेठ २९ शनिवार १०:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD