
९ असार, लमजुङ । लमजुङ बेँसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै रु ७२ करोड ६५ लाख ४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालु वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । उक्त सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ४० करोड ३३ लाख ४५ हजार (५२.५२ प्रतिशत) र पूँजीगततर्फ ३२ करोड ३१ लाख ९६ हजार(४४.४८ प्रतिशत) बजेट रहेको छ ।
त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोत/राजश्वबाट रु चार करोड ८१ लख ४५ हजार, सङ्घीय र प्रदेश राजश्व बाँडफाँटबाट रु १० करोड ४१ लाख ७३ हजार, सङ्घीय र प्रदेश समानीकरण अनुदानबाट रु १५ करोड ९६ लाख २३ हजार, सङ्घीय र प्रदेश सशर्त, समपूरक र विशेष अनुदानबाट रु ३६ करोड ४६ लाख तथा चालु आवको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दातबाट अनुमानित रु पाँच करोड रहेको छ ।
नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरुको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै आगामी वर्षका लागि योजनागत रुपमा बजेट निर्माण गरिने नगर प्रमुख गुमानसिंह अर्यालले बताए । विषयगत रुपमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ४१.८५, भौतिक पूर्वाधार विकासमा २५.५५, संस्थागत विकास तथा सैवा प्रवाहमा १६.१४, आर्थिक विकासमा १४.२८ र वातावरण तथा विपद् व्यवस्थापनमा २.१८ प्रतिशत बजेट बाडफाँट गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।
त्यस्तै नीति, कार्यक्रम तथा बजेटमा चालु वर्षको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो । चालु वर्षमा ६० प्रतिशत वित्तीय प्रगति भएको, ४०० योजना रहेकामा अधिकांश सम्पन्न भएको तथा बन्दाबन्दीको अवस्थामा पनि नगरपालिकाले प्रभावकारी सेवा प्रवाह गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । (रासस)
वि.सं.२०७८ असार ९ बुधवार २०:३९ मा प्रकाशित