२ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन् । सम्झौतापछि युनडीपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीहरुलाई युनडीपीले उपलब्ध गराउने रकम बैंकले बैंक खातामार्फत भुक्तानी गर्ने बताइएको छ ।
बैंकका सीइओ श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी सहयोग पाउने घरधुरीहरुमध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्ने बताए । युएनडीपी नेपालकी आवसीय प्रतिनिधि लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तरी, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडीपीको प्रयास कार्यक्रमले जीविकोपार्जनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा बैंकका नायब उप–कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, युएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर लगायतको उपस्थित थियो ।
वि.सं.२०७८ साउन २ शनिवार २०:२६ मा प्रकाशित






























