साउन ३, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका (एमाले)का नेता माधवकुमार नेपाल औपचारिक रुपमै एमाले नफर्किने निर्णयमा पुगेको चर्चा एमालेको स्थायी समिति बैठकमा चलेको छ । माधव नेपाल स्वंयले उक्त कुरा कार्यदलका सदस्यहरुलाई बताएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
माधव नेपालले आफुँ एउटा बिन्दुमा पुगेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय कमिटीको निर्णयलाई नमान्ने निष्कर्ष कार्यदलका सदस्यलाई सुनाएको उनले बताए । नेता नेपालले आफुँ एकलै भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिने र मत दिने निर्णय गरेको उनले जनाए ।
ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’
प्रवक्ता ज्ञवालीका अनुसार एमाले स्थायी समिति बैठकले कार्यदलले दिएको १० बुँदे सुझाबलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । तर, माधव नेपालले भने १० बुँदेलाई मान्दिन भन्ने कुरा जनाएको उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय पनि माधव नेपालसँगको छलफलपश्चात गरेको भन्दै एमालेले पार्टी फुटाउने षडयन्त्रका रुपमा बुझेको नेता ज्ञवालीको भनाई छ ।
सम्बन्धित समाचार
विश्वासको मत लिने देउवाको निर्णय, विभाजित देखियो माधव समूह
एमाले बैठकको निष्कर्ष : देउवाको पक्षमा भोट दिनेहरु पार्टीमा रहन्नन्
वि.सं.२०७८ साउन ३ आइतवार १४:२९ मा प्रकाशित






























