साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभा बैठकमा आइतबार उनले विश्वासको मत पाउन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
उनले राखेको प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको छ । सभामुख अग्निप्रसाद सापकोटाले देउवाले राखेको प्रस्तावमाथि मत विभाजन हुँदा १६५ मत पक्षमा आएको घोषणा गरे । २४९ उपस्थिति मध्ये यो मत कुल सांसदहरुको सुविधाजनक बहुमत हो ।
देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको दुवै पक्ष र राष्ट्रिय जनमोर्चाले मतदान गरेको थियो ।
राप्रपा भने तटस्थ बसेको थियो ।
देउवालाई नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका केही सांसदहरुले पनि मतदान गरेको थियो । केपी ओली समूहकै ४ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका थिए ।
देउवा गत असार २८ मा सर्वोच्च अदालतको परमादेश जारी गरेसँगै गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई संविधानको धारा ७६ (५) अनुसार सर्वोच्चको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको १ महिनाभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भए बमोजिम प्रधानमन्त्री देउवाले आइतबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत मागेका थिए ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरेका थिए ।
वि.सं.२०७८ साउन ३ आइतवार २२:१५ मा प्रकाशित






























