साउन ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । मंगलबार बालुवाटारमा भएको भेटवार्तामा यस्तो सहमति भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।
बताइएअनुसार दुई नेताबीच गत जेठ ८ पछि गरिएका सबै नियुक्तीहरु खारेज गर्ने सहमति भएको छ ।
जेठ ७ को मध्यरात ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनपश्चात पनि सरकारले मनपरि रुपमा नियुक्तीहरु गरेको थियो ।
सरकारले विघटन अगाडि र विघटनपश्चात गरिएका कतिपय नियुक्तीविरुद्व सर्वोच्च अदालतमा मुद्दासमेत परेका छन् । देउवा र प्रचण्डबीच विवादित देखिएका त्यस्ता नियुक्तीहरु खारेज गर्ने सहमति भएको हो ।
भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको छ । सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा गठबन्धनका नेताहरुको सुझाबका आधारमा निर्णय लिने सहमति भएको बुझिएको छ ।
वि.सं.२०७८ साउन ५ मंगलवार १४:०१ मा प्रकाशित






























