साउन ५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बहुमत सांसदहरुको बैठकले विधान पारित गरेको जसपाका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संसदीय दलबाट पारित विधान छिट्टै बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट अनुमोदन गरिनेछ । केन्द्रीय कार्यकारिणी बैठकबाट विधान पारित भएसँगै दलको नेता पनि चयन हुने उनले बताए ।
मंगलबार बसेको संसदीय दलको बैठकमा जसपाका बहुमत सांसदहरुको उपस्थिति रहेको बताइएको छ । नेता श्रेष्ठले बताएअनुसार बैठकमा ३२ सांसदमध्ये १९ जनाको उपस्थिति थियो ।
केहि सांसदहरुले बैठकमा उपस्थित नभए पनि निर्णयप्रति सहमति जनाएको उनले बताएका छन् ।
आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको जसपामा पछिल्लो सत्ता परिवर्तनको खेलसँगै उपेन्द्र यादव पक्षमा बहुमत देखिएको छ । बहुमतमा देखिएको यादव पक्षले संसदीय दलको नेता र मन्त्रीहरुको नाम चयन गर्ने प्रक्रिया सुरु गरेको हो ।
वि.सं.२०७८ साउन ५ मंगलवार १५:१० मा प्रकाशित






























