साउन ६, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेका छन् । उनले साउन ५ को मिति राखेर देउवाको पक्षमा मतदान गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
माधव पक्षको स्थायी समिति बैठक चलिरहेको बेला बुधबार ओलीले नेताहरुलाई पत्र पठाएका थिए । पत्रमा ओलीले विश्वासको मत दिएको विषय उल्लेख नगरेपनि विपक्षी गठबन्धनसँग मिलेर अपराधपूर्णं कार्य के–कति कारणले गरेको भनि प्रश्न गरेका छन् ।
‘पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?’, स्पष्टीकरण पत्रमा भनिएको छ।
ओलीले स्पष्टीकरण पत्रमा निष्कासन गर्न नपर्ने कारण २४ घण्टाभित्र दिन भनेका छन् । जवाफ चित्त बुझ्दो नदिएमा वा जवाफ नदिएमा कारबाही गर्ने पनि उनको चेतावनी छ ।
आइतबार प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षका १३ र ओली पक्षमै देखिएका ९ सांसदले पार्टी निर्देशन विपरित मत दिएका थिए । देउवाको पक्षमा मतदान दिएको विषयमा सोमबार बसेको ओली पक्षीय एमालेको केन्द्रीय समिति बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
माधव पक्षको निष्कर्ष : स्पष्टीकरण सोधेर ओलीले एकता प्रक्रियामा भाँजो हाले
तर, सोमबार २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको भए पनि सांसदहरुलाई बुधबार मात्रै साउन ४ अर्थात् मंगलबारको मिति राखेर पत्र पठाइएको हो ।
यसबीच माधव पक्षले भने स्पष्टीकरणको औचित्य नभएको बताएको छ । बुधबार बसेको माधव पक्षीय स्थायी समिति बैठकले ओलीको हर्कत एकतो विरोधी रहेको ठहर गर्दै स्पष्टीकरणको सोध्नुको अर्थ नरहेको निष्कर्ष निकालेको छ ।
यस्तो छ ओलीले पठाएको पत्र

वि.सं.२०७८ साउन ६ बुधवार १७:२८ मा प्रकाशित






























