६ साउन, काठमाडौं । लगातार राजनीतिक भेटघाटलाई तिब्र बनाइ रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सचिवालय सदस्य धर्मेन्द बास्तोला ‘कञ्चन’ सहित पुगेका विप्लवले प्रधानमन्त्रीलाइ भेटेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाण सहितको साे भेटघाटमा विप्लवले केपी ओली सरकारसँग नेकपाले गत फागुन २१ गते तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । उनले सहमति अनुसार जेलमा रहेका नेकपाका नेताहरुको रिहाइ गर्नुपर्ने तथा झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेका थिए । भेटमा विप्लव र देउवाबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री देउवाबाट सहमति यथासिघ्र कार्यन्वयन गर्ने कुरामा विश्वस्त पार्ने प्रयत्न भएको धर्मेन्द बास्तोलाले बताए ।
राजनीतिक भेटघाट बढाएका विप्लवले यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेट गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा गत फागुन २० गते चन्द समूह र सरकारबीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि नेकपा महासचिव नेत्रविक्रम चन्द खुला राजनीतिमा आएका हुन् ।
वि.सं.२०७८ साउन ६ बुधवार २०:३५ मा प्रकाशित






























