Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कथा: झिनो विश्वास



सानी कि आमा टोकरी बोकेर मेलोमा पुग्नको निम्ति हतार हतार दौडिरहेकी छिन । दुब्ली, पातली, छरिती र फुर्तिलि उनी चियाको पात टिप्न निक्कै सिपालु छिन । अनि प्रत्येक दिन बिघा टिप्न सबैभन्दा पहिला पुग्छिन् । तर आज उनी अबेर भईन् । त्यही भएर आफ्नो खिइसकेका पाइतालाहरु जति सक्दो छिटो छिटो दौडाउने कोशिसमा छिन् । मिर्मिर बिहानीमा भाले बास्दा उठेकी, दाउराको चिसो चुल्होमा धुवाँसित पैठजोरी खेल्दै रोटि, आलुको तरकारी , दिउँसोको भात पकाइ अनि भोलि स्कुल जाने छोरीको कपडा पनि धुन थाल्दा आज अबेर भएकी हो ।

आठमाईलको एउटा रमाईलो गाउँमा सुनौलो रंग दलेर चिटिक्क पारेको घरहरुको बीचमा उनको घर भक्कु मोसो दलेको कालो सेटघर झै देखिन्छ । त्यसमाथी पनि छाना चुहिएर पञ्चायतबाट दिइएको कालो त्रिपालले छानो देखि गुमुक्क पारिएर ढाकेको घर याक्सा बेसि जस्तै देखिन्छ ।

त्यस याक्सा जस्तो घरमा तीनवटा प्राणीहरु बस्छन् । सानी, सानी कि आमा अनि सानी कि बाबा जो प्रायः बेहोशी मै हुन्छन् रक्सीको नशामा । सानी कि आमा एक्लैले घर र चिया कमानको बिघा टिप्ने काम गर्छिन् । छोरी यसपालीदेखि कक्षा चारमा पुगेकी छ । छोरीको पढाई एकदम राम्रो छ । जति जति छोरीको अनुहार झल्झली सम्झिन्छे । त्यति त्यति सानी कि आमाको हातहरु बिजुली जस्तै चियाको बोटहरुमा दौडिन्छ । पातका मुनाहरु टिप्न सरर सरर ।

यस्तो तकनिकी र आधुनिकता भएको युगमा पनि यी प्राणीको घरमा बिजुली बत्ती समेत छैन । त्यसको कारण छ । लगभग एक साल अघि उसले छ महिनासम्म बिघा टिपेर जम्मा गरेको पैतिस सय रुपैयाँ श्रीमानलाई हातमा दिएर बिजुली कार्यालयमा तिर्न पठाएकी थिइन् । तर, त्यो जम्मै पैसा बिजुली कार्यालयमा होइन । गड्डिको भट्टि पसलमा पुगेछ । छ महिनासम्म नतिरेको ऋृण बल्ल तिरियो भन्दै वल्लो भित्ता र पल्लो भित्ता हुँदै गुडको टिनले बनाएको ढोका ठटाएर रातभरी सुत्नु नदिएको दुःखद घटना उसको मनमा आलै छ ।

अस्ति आइतबार विदाको दिन पधेंरीमा लुगाधुन जाँदा छिमेकीहरुले –‘यो मथ्थु कि स्वास्नी जंगलीहरु । दुनियाँ कहाँ पुगिसक्यो । यिनिहरु टुकीमै छ । थुक्क ।’ भन्दै एकअर्कामा कानेखुशी गर्दै आफ्नो दरिद्रपन र लाचारीपनको खिल्ली उडाएको छर्लङ्ग देखि कानले सुनी । तर पनि मुटुमा रोपिएको त्यो पीडालाई दाह्रा किटेर सहि उसले । मनमनै एउटा कुरा बुझी शायद ठिकै हो ? जसको श्रीमान मथ्थु, जसको श्रीमानको आम्दानी छैन । बेकामे छ । उसकी पत्नीले अपहेलित त हुनुनै पर्ने रहेछ ।

जे होस् । उसलाई दुनियाँ सित केही सरोकार छैन, मतलब नै छैन । वितेको बर्ष तीन कक्षामा छोरी फस्ट भएर चौथो श्रेणीमा पुगेकी कुराले उ रोमाञ्चित बनेकी छे । उसको एउटामात्र इच्छा छ । उसकी छोरीले उ जस्तो दुःख गर्नु नपरोस् । पढने लेख्ने कलिलो उमेरमै अर्काको घरमा कालो अक्षर भैंसी बराबर भएर जानु नपरोस् । त्यही भएर आफ्नी छोरीलाई शिक्षित गराएर ठूलो मान्छे बनाउने र समाजमा उभ्याउने उसको आत्मबिश्वास झन–झन बढेको छ ।

भगवान, देवि देउराली र दुनियाँ सित उसको बिश्वास हराइसकेको छ । किन कि, बाटो हिड्दा भेटिने प्रत्येक ढुङ्गा र पत्थरहरुमा फूलपाती चढाएर शिर ननिहुराएकी होइन । तर अहँ ! पत्थर त पत्थरैनै रहेछ ? कहिले नपग्लिने बरु छिमेकीको घरको तल्ला थपियो । तर उसको भाग्यमा सुखको तल्ला कहिले थपिएन । आजभोलि उसको श्रीमानको रक्सीको तलतल झनझनै बढेको छ ।

अस्ति नारी दिवसको दिन गाउँकै गणमान्य व्यक्तित्व श्री बिनय किशोर बाबूले कमानको एउटा सानो कार्यक्रममा नारी सम्मान, नारीको हक र अधिकारको बिषयमा बोलेको सुनेर मख्खै परेकी थिइ । तर उनकै बिल्डिङ्ग भएर हिजो मात्रै बजार जाँदैगर्दा आँखाले हेरि । उनको घरमा सानीकै उमेर कि रहरलाग्दी केटि कामगर्न भनेर नोकर राखेको छ । अनि खै ! के कुरामा हो गालानै सुन्निने गरि चडकन हानेको देखेर उसलाई आफैलाई दुखेझै गरेर बारबार गाला छामीरहि धेरै बेरसम्म ।

पल्लो घरको उसको एउटैमात्र मिल्ने छिमेकी हरिको आमा भन्ने गर्छिन – ‘छोरीलाई किन यस्तो दुःख गरेर पढाउँछौ मोरी ? अलिक दिनमा कुन पोइ टिपेर हिड्छे ? आफू सुकेर काठ जस्ति भइ सक्यौं ?’ तर छिमेकीको कुरा उसले हाँसेर टार्छे । उसले एउटै कुरा मनमा पालेकि छे । गाडेकिछे । कि आफ्नो छोरीलाई पढाएर ठुूलो अफिसर बनाउने आशा छ । बिश्वास छ । र भरोसा छ । अचानक रेलको सिटिको आवाजले उ झस्किन्छे । रातभरि पिडुला फर्केर दुखेको खुट्टा त अहिले झनै दुख्न थाल्यो । ज्यानै जाने गरेर । अस्ति अचानक मेलोमा बाघ निस्केर ज्यान बचाउन भाग्दा देब्रे खुट्टाको बूढीऔंलाको छाला प्वाक्कै उप्किएर घाउ भएको रहेछ । थुक्क त्यसमा दवाई लाउन नि भुसुक्कै बिर्सिएछु भन्दै सानी कि आमा हतार हतार मेलो लाग्छिन । आजपनि ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय