३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६७ पिसीआर र ४ हजार ९०६ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १३ हजार ५७३ नमुना परीक्षणमा २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार शुक्रवारको तुलनामा शनिवार संक्रमित हुनेको संख्या घटेको छ ।
आज काठमाडौंमा ५३५, ललितपुर १६४, भक्तपुर ९६ गरी उपत्यकामा ७९५जना नयाँ संक्रमित थपिएका छन् । शुक्रवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या झण्डै ३ सयले घटेको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।
त्यस्तै आज देशैभरी थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।
हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार २ जना होम आइसोलेशन र ३ हजार ४०३ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७६० जना र भेन्टिलेटरमा १८६ जनाको उपचार भइरहेको छ ।
त्यस्तै शनिवार देशैभरी ९४ हजार ७८९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख १३ हजार ३३ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १ हजार २३९ पुगेको छ ।
वि.सं.२०७८ साउन ३० शनिवार १६:५५ मा प्रकाशित






























