३२ साउन, काबुल । अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौँ बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन् ।
देशका प्रमुख सहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट उनीहरूलाई कारागारमुक्त गरेको हो ।
कारागारमा थुनिएका आफ्ना लडाकूहरूसहित झण्डै ६०० जनालाई कारागारमुक्त गरिएको विद्रोहीहरूले जानकारी दिएका छन् ।
कारागार सुरक्षाको जिम्मेवारी लिएका उच्च पदाधिकारीहरूको लापरबाहीका कारण लडाकूहरूले सजिलै कैदीहरूलाई जेलमुक्त गरेको बताएको छ ।
कारागारमा लागुऔषध कारोबार, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधिहरूलाई समेत राखिएको थियो ।
“विद्रोही लडाकूहरूले आक्रमण गरेको कारागारमा राखिएकामध्ये अधिकांश कैदीहरू लागुऔषध कोरोबार, अपहरण, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधीहरू रहेका थिए,” जेल प्रशासन निर्देशक सफिउल्लाह जालाल्जैले भने ।
तालिबान विद्रोहीहरूले जेलमुक्त गराएका ६३० कैदीहरूमध्ये १३ जना महिला र तीन जना विदेशी रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी जेलमुक्त गरिएका कूल कैदीहरूमध्ये १८० जना तालिबान लडाकू नै रहेका छन् । “उनीहरूमध्ये १५ जना नेतृत्व तहका लडाकू थिए, उनीहरूलाई अफगानिस्तान सरकारले आजीवन काराबासको सजाय तोकेको थियो,” एक अधिकारीले भने ।
तालिबान लडाकूहरूले यसअघि निम्रोज प्रान्तको जारान्ज सहरमा रहेको कारागारबाट ३५० जनालाई जेलमुक्त गरेका थिए । उनीहरूमध्ये ४० जना तालिबान लडाकू रहेका थिए ।
विद्रोही लडाकूहरूले अन्य ठाउँमा रहेका विभिन्न कारागारहरूबाट समेत सयौँ कैदी/बन्दीहरूलाई जेलमुक्त गराएका छन् ।
वि.सं.२०७८ साउन ३२ सोमवार ०७:५४ मा प्रकाशित





























