छिमेकी घरकी दिदीले लुगा धुने साबुन बेला बेलामा कहिले एक बोरा कहिले दुई बोरा मगाएर झिकाउने गर्थिन् । उनले साबुन मगाएको थाहा पाएपछि मलाई पनि लुगा धुने साबुन मगाउन मन लाग्यो र उनीसंग साबुन ल्याउनेको फोन नम्बर मागे । फोन नम्बर माग्दा दिन मानिनन् । ‘फोन गरेर मैले नै मगाइदिउला नि ।’ भनिन् ।
‘त्यसो भए मलाई एकबोरा लुगा धुने साबुन मगाइदिनु नि ।’ मैले भने भने ।
छिमेकी घरकी दिदीले मेरो लागि एकबोरा र उनको लागि एकबोरा साबुन फोन गरेर मगाइन् । साबुन बनाउने कारखानाबाट साबुनको साहुजीले दुईबोरा साबुन मोटरसाइकलमा राखेर ल्यायो । त्यसपछि मलाई साबुन लिन बोलाइन् । मैले आफूले मगाएको एक बोरा साबुन घरमा लगेर राखे । ‘साबुनको कति पैसा भयो नि ?’ मैले सोधे ।
छिमेकी घरकी दिदीले ‘दुईहजार तीनसय भयो ।’ भनिन् । मैले घरबाट दुईहजार तीनसय रुपैँया लगेर उनीलाई दिए ।
साबुनको प्रत्येक खोलमा साबुन बनाउने कारखानाका नाम र मोबाइल नं. पिंन्ट गरेर राखेको रहेछ । मैले मोबाइल नं. टिपेर आफ्नो मोबाइलमा सेभ गरे । एकवर्ष सकिएपछि मैले मगाएको साबुन सकियो । अब साबुन आफैले मगाउनु प¥यो भनेर मोबाइलमा फोन गरेर झिकाए ।
‘साबुनको कति रुपैँया भयो नि ?’ भने । साबुन ल्याउनेले ‘दुईहजार मात्रै’ भन्यो । एकवर्ष अगाडि दुईहजार तीनसय तिरे मैले एकवर्षपछि तीनसय कम कसरी भयो होला झन् बढ्नु पर्नेमा मनमनै भने ।
एकछिनपछि छिमेकी घरकी दिदीले मलाई फोन नम्बर दिन नमानेको कारण त बल्ल पो खुल्यो ।
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३४ मा प्रकाशित






























