अब युवक उठेमा, बन्छ नेपाल हाम्रो
नव किरण उदाए, बन्छ नेपाल राम्रो ।
दिनदिन पर जाओस् दुःख बाटो समाई
हँसमुख जन देखूँ नित्य हाँस्ने रमाई ।।
कुटिल कहर सारा देश लुट्ने हटाई
छल र कपट नारा राष्ट्र भुट्ने हटाई ।
असल मुलुक पार्ने भार बोक्नैछ बाँकी
अटल मुलुक राख्ने हार रोक्नैछ बाँकी ।।
उदय किन ढिलो यो झुल्क चाँडो धरामा
गगनतिर उज्यालो छर्क चाँडो परामा ।
अलमल नभएमा, ज्योति जाग्ला ननिभ्ने
झलमल तब होला रोशनी यो ननिभ्ने ।।
विजयपथ यताको फूलमाला लगाऊ
जल सरि पसिनाका दिव्य धारा बगाऊ ।
कति सहनु सदा यो त्राश पीडा गढेको
अब त उठ युवा हो! नाश पीडा बढेको ।।
हिमशिखर यता यो ढल्न लाग्दा समाऊ
धरधर जलधारा झर्न लाग्दा रमाऊ ।
प्रियछ वतन छाती माझ माटो लगाऊ
अविरल पसिना ती राष्ट्र भित्रै बगाऊ ।।
छन्द – मालिनी
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:३७ मा प्रकाशित






























