फुल्छन् चाहा सबजन जुटे, फल्छ हाम्रो धरामा
बोली हाम्रा सलबल भए, दूर त्यो कन्दरामा ।
हामी आफै जगत भरमा, जुट्नु पर्नेछ भोली
हाम्रो भाषा अटल रहँदै, उठ्छ संस्कार खोली ।।
१
ती खाटामा जब तब सँधै, ध्यान साँचो जगाऊ
यो माटामा हर समयमा, ज्ञान राम्रो लगाऊ ।
यी आकाङ्क्षा सुख सयलका, सल्बलाएर साथी
आऊ आऊ सबजन मिली, जानु पर्नेछ माथि ।।
२
राम्रो आशा सफल ममता, राख भित्री कुनामा
माया गर्दै जगत जननी, सत्य बान्दै तुनामा ।
आऊ राम्रा असल जन हो, आउँदै साथ देऊ
जो छन् दुःखी तल जनहरू, हो त्यहाँ हात देऊ ।।
३
छन् सन्नाटा सबतिर जहाँ, फाल्नु सर्दै अगाडि
टेक्दै गोडा हिमशिखरमा, चढ्नु बढ्दै अगाडि ।
देखिन्छन् ती सफल चुचुरा, पाउ टेक्दै बढेमा
जो पुग्नेछन् समय पलमा, त्यो उकालो चढेमा ।।
४
नेपालीका असल जन हो, सोच राम्रो बनाइ
जुट्दै आऊ हर मनहरू, भेष आफ्नो समाइ ।
छाओस् आशा सबतिर जहाँ, उठ्नु पर्नेछ मित्र
हाम्रो भाषा अति सहजले, बोल्नु यो देश भित्र ।।
५
परा- ब्रह्मविद्या
छन्द: मन्दाक्रान्ता
वि.सं.२०७८ भदौ २६ शनिवार ०७:४० मा प्रकाशित






























