‘पानी खाने ?’
विहानै एक सनमले फिरि लगायो । जाडोको बेला विहानै तातो पानी खानेकुरा गरेपछि जिउ त्यसै तातेर आयो । बजारमा गएर अलिकति नुन किनेपछि सनमले भन्यो ।
‘ए साँच्ची त आज अष्टमी !’
‘अष्टमी त यलम्बरको दिन !’
‘नापिएको कुरा नगर न ! कुल कुलायन रिसाउँछन् र !’
सहरको छेउमा यलम्बर गृहयुध्दको पाठ भैंसीहरूलाई पढाउँदै थिए । एकजना तान्त्रिकले आएर यलम्बरलाई खुसुक्क भन्यो ।
‘हजुरको दशा बिग्रेको छ, होस गरिसेला !’
यलम्बरले चारैतिर आँखा डुलाए । भिडबाट फुत्केको एक त्यो गोठालोलाई लुरूलुरू बाटोमा हिंडिरहेको देखेर सोधे ।
‘दशैं कस्तो छ ?’
‘हजुर ! ताजा छ !’
यलम्बर र भैंसी पालकहरूको युध्द पचलीको छेउ चलिरहेको थियो । पालकहरूले भैंसीको जुलुस निकाले । भैंसीहरू सिंग नभएका मुडुला थिए । उनीहरूले यलम्बरलाई विन्ति गरे ।
‘प्रभु ! हाम्रो लाज बचाइस्यो !’
‘लाज बचाउने भए खुट्टा ढोग्नु नि त !’
‘खुट्टाचाहिँ ढोग्दिन ! बरू टीका लगाइदिस्यो !’
त्यसपछि वरिपरि राखेर कसैलाई रातो, कसैलाई सेतो र कसै लाई पहेंलो अछेताको टिका लगाइदिए । सबैमा आश्चर्य भाव थियो । एकै समूहमा रहेका मानिसहरूलाई बेग्लाबेग्लै रङको टीका दिएपछि यलम्बरले भने ।
‘सांस्कृतिक क्रान्ति !’
उनीहरूमध्ये कसैले आफूलाई पितृवादी सम्झे, कसैले किराँती सम्झे त कसैले कट्टर हिन्दुवादी सम्झे । परतिर छेउको अब्बल एक कम्युनिष्ट आएर खुब क्रान्तिकारी भाषामा बोल्यो !
‘मेरो पहिचान के ?’
‘अन्तराष्ट्रियता वादी !’
सबै गलल्ल हाँसे । उनीहरूको अनुहार रातो भयो । उनीहरू जीवनको अन्त्यमा छटपटिएर भन्न थाले ।
‘पवित्र माटो!’
यलम्बरको तरवारमा लत्पतिएको रगतमा कुनै रङ थिएन तर पनि बाग्मतीमा सांस्कृतिक पानी बगिरहेको थियो । माटोको झोलमा पनि बगिरहेको थियो ।
‘शुध्द जल !’
कम्युनिष्टले हत्पत घाटको खरानी हातमा लियो । उसले त्यो खरानीलाई बाग्मतीको जलमा मुछेर टीका लगाउँदै भन्यो ।
‘बिगुत लगाए भूतप्रेत भाग्छ !’
वि.सं.२०७८ कात्तिक ६ शनिवार ०९:४१ मा प्रकाशित