काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बार पदाधिकारीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नको विकल्प नरहेको निष्कर्ष बैठकले निकालेको बताए । ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन, उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने, यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन’, श्रेष्ठले सञ्चारमाध्यमलाई भनेका छन्, ‘यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।’
मंगलबार बस्ने सल्लाहकार परिषद्को बैठकपछि निर्णय सार्वजनिक गरिने उनले बताए । यसअघि आइतबार मात्रै बारले प्रधानन्यायाधीशलाई भेटेर सोमबारको लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका पनि थिए ।
तर फूलकोर्ट बैठकलाई न्यायाधीशहरूले बहिष्कार गरेपछि सोमबार फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको हो ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७ मा प्रकाशित