काठमाडौं । कामलाई प्रभावकारी, दिगो र रोजगारमुलक बनाउने गरि कार्यविधि तयार गरेर मात्रै सार्वजनिक खरिद र उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनालाई प्रकृयामा अगाडि बढाउने शहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नयाँ कार्यविधि नबनेसम्म मन्त्रालय र मातहतका निकायले गर्ने खरिद कार्य उपभोक्ता समिति मार्फत गराउन रोक लगाएको हो । मन्त्रालयको सो निर्णय २०७८ ०७ १४ को मन्त्रिपरिषदको वैठक अनुसार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महालेखा परिक्षकको ५७ औं र ५८ औं प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदन र अनुगमनको क्रममा आएका गुनासाहरुले उपभोक्ता समिति मार्फत भएका कामहरु प्रभावकारी र गुणस्तरिय नभएको जनाइएको छ । साथै उपभोक्ता समिति मार्फत भइरहेका कामले अनियमिततालाई प्रश्रय दिएको बुझिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्माले मन्त्रालयको कामलाई प्रभावकारी र दिगो बनाउन मन्त्री द्वारा नयाँ कार्यविधि बनाउने प्रकृया अगाडि बढाउन निर्देशन दिएकाले सोहि अनुसार विज्ञप्ति जारी गरिएको सन्सारन्युजलाई बताए । प्रवक्ता शर्माका अनुसार मन्त्रालयले नयाँ कार्यविधि बनाउनको लागि सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिले १ महिना भित्रमा नयाँ कार्यविधि तयार गर्नेछ ।
हेर्नुहोस मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १७:११ मा प्रकाशित