जहाँ जन्मेर हुक्र्यो, मानिसको पहिचान त्यहीँ बन्छ । मानिसको मोरचनाको स्वरुप, व्यक्तित्वको प्रारुप त्यहीँ बन्छ । पहिलो पटक स्पर्श गरेको, खेलेको ठाउँसँग मानिसको गहिरो नाता हुन्छ । त्यो ठाउँले मानिस चिनिन्छ, मानिस त्यो ठाउँलाई चिनाउँछ । नाम मानिसको पृथक चिनारी बनाउने माध्यम हो । भाषा हो, मानिसलाई जगत्सित जोड्ने सूत्र । भाषामा खास ठाउँको प्रकृतिको रुपरङ्ग, ध्वनि र गतिको छाप हुन्छ । ठाउँसँग नाम र भाषाको अभिन्न नाता हुन्छ । नाम र भाषामा संस्कृतिका विशिष्टाताहरू जेलिएर आउँछन् । जहाँ जन्म्यो, मानिस त्यहीँको हावामा सास फेर्छ, त्यहीँको पानी खान्छ । त्यहीँको धूलोमा बामे सर्छ, त्यहीको धूलोमा टुकुटुकु हिँड्छ । त्यहीँका इन्द्रेनी र पुतली हेरेर आनन्दित हुन्छ । त्यहीँको चट्याङले तर्सिन्छ, वर्षाले भिज्छ । त्यहीँको जाडोमा स्यूस्यू काम्छ, गर्मीमा तर्तरी पसिना काड्छ । त्यहीँ श्रम गर्छ, उत्पादन गर्छ, सिर्जना गर्छ । त्यहीँ आमाको मायालु बोलीमा लोली गाउँछ, मायापिर्ती लाउँछ, सन्तान जन्माउँछ । मानिस त्यहीँको मौसममा अभ्यस्त हुन्छ, त्यहीँको वातावरणको अभिन्न अङ्ग बन्छ ।
मानिस जहाँ जाँदा पनि स्मृति–शृङ्खलाको चाङ बोकेरै जान्छ । कसैले मलाई सोधोस्— घर कहाँ हो ? काठमाडौँको चाबेल हो भन्न मेरो मुख लाग्दैन । मेरो स्मृति–शृङ्खला भन्छ— मेरो घर पान्थरको सुभाङमा हो । ठाउँ विशेषले बनाउने मानिसको पहिचान कति प्रबल र चिरस्थायी हुन्छ !
आफ्नाे ठाउँको सांस्कृतिक परम्परामा मानिसको दिनचर्याका अभिन्न अङ्गजस्ता रीति र रुढि, कर्मकाण्ड र संस्कार हुन्छन् । नाम र भाषा, प्रकृति र परम्परा, रीति र रुढि, कर्मकाण्ड र संस्कारले मानिसको मस्तिष्कमा स्मृति–शृङ्खलाको निर्माण गर्छन् । मानिसको जीवन भन्नु नै स्मृति–शृङ्खलाको अर्को नाम त हो । मानिस जहाँ जाँदा पनि स्मृति–शृङ्खलाको चाङ बोकेरै जान्छ । कसैले मलाई सोधोस्— घर कहाँ हो ? काठमाडौँको चाबेल हो भन्न मेरो मुख लाग्दैन । मेरो स्मृति–शृङ्खला भन्छ— मेरो घर पान्थरको सुभाङमा हो । ठाउँ विशेषले बनाउने मानिसको पहिचान कति प्रबल र चिरस्थायी हुन्छ !
मानिसको ठाउँसँगको नाताबारे मैले गम्भीर रुपले कहिल्यै सोचेको थिइनँ । खासमा सोच्नुपर्ने खण्ड मलाई आइलागेको पनि थिएन । बेलायत र अमेरिकामा नेपालीहरूलाई जब भेटेँ, जीवनले जरा गाडेको ठाउँसँग मानिसको कति गहिरो नाता हुँदो रहेछ, मलाई थाहा भयो । जो जीवनभरिका आफ्ना पदचापबाट निर्मित स्मृति–शृङ्खला बोकेर त्यता गएको छ, ऊ विभाजित मन लिएर जिउँदो रहेछ । ऊ मानसिक अन्तद्र्वन्द्वले आक्रान्त जीवन जिउँदो रहेछ । खुट्टा छन् बेलायत, अमेरिका, अष्ट्रेलिया वा क्यानाडामा, मन छ नेपालमा । उसले देखेको, सुनेको, गरेको, जानेको, चिनेको र भोगेको जे जे हो, त्यो नेपालमा छ । परिचित चौतारी र देउराली नेपालमा छन् । आफन्त र कुलकुटुम्ब नेपालमा छन् । चाडपर्व र जात्रामेला नेपालमा छन् । घाट र चिहानघारी नेपालमा छन् । मायापिर्तीका कथा र किस्सा नेपालमा छन् । जानेको भाषा र हिँडेको भूगोलका गोरेटा नेपालमा छन् । यसको अर्थ हो, उसको सर्वस्व नेपालमा छ । बेलायत, अमेरिका, अष्ट्रेलिया वा क्यानाडामा उसको के छ ? केवल उसका खुट्टा छन् । र, उसको चित्तमा अन्तहीन अन्तद्र्वन्द्वको कष्टकर आँधी उठेको छ । रहर, बाध्यता वा संयोगले ऊ बेलायत, अमेरिका, अष्ट्रेलिया वा क्यानाडा पुग्यो । जब त्यहाँ पुग्यो, ऊ भवसागरमा फँस्यो । उतै बसिरहुँ, उसलाई मनमा चैन छैन । नेपाल फर्किऊँ, फर्किने बाटै छैन ।
बेलायत, अमेरिका, अष्ट्रेलिया वा क्यानाडा पढ्न गएका विद्यार्थीको मनोदशाको चित्रण यो होइन । विद्यार्थी त पढेर मन लागे अलि वर्ष त्यतै काम गर्लान्, मन नलागे स्वदेश फर्कलान् । आउन तिनको बाटो बन्द छैन । देश हेरुँ, मुख फेरुँ, दुई–चार पैसा कमाऊँ, अनि देखाजाएला भन्ने पेशाकर्मीको मनोदशाको चर्चा पनि यो होइन । ती पनि मन लागे त्यतै बस्लान्, मन नलागे घर फर्कलान् । फर्की आउन तिनको पनि बाटो बन्द छैन । तर जो रहर, वाध्यता वा लहडले जो झिटीगुन्टा कसेर त्यता गएका छन्, तिनको भग्न मनोदशाको चित्रण हो यो ।
किशोर वा तरुण नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मौसम, नयाँ भाषा, नयाँ वेषभूषा, नयाँ भोजन र नयाँ चाडपर्वमा रिझ्नभिज्न बेर लाग्दैन । ती यी नयाँहरूमा सहजै अभ्यस्त हुन सक्छन् । तर जो उमेरमा अधबैँसे भइसके, तिनलाई बडो गाह्रो छ । उमेरका कारण तिनमा यी नयाँहरूमा सहजै ढलान हुने लचकता हुँदैन । जति नै यत्न गरुन्, तिनले रैथाने जनले रैथाने भाषा बोल्न जान्दैनन् । किशोर र तरुणका स्मृति–शृङ्खला समयको क्रममा सहजै मेटिन सक्छन् । अध्बैँसेको हकमा यो सम्भव छैन । बरु प्राण जाला, तिनको स्मृति–शृङ्खला मेटिँदैन । त्यसैले आफुँ जन्मी–हुर्केको देश र संस्कृतिको न्यास्रो मान्दै बिरानो देशमा बेचैनीसाथ बाँकी जीवन बिताउन ती अभिशप्त छन् । कुनै जुक्तिले स्वदेश फर्किने द्वार खुले पनि यी अधबैंसे जन सन्तान र तिनको भविष्यका कारण फर्किन सक्दैनन् । सानैमा लिएर गएका सन्तान भए ती नयाँ भाषा, संस्कृतिमा रमिसके होलान् । उतै जन्मेका भए ती उतैका भइहाले । चैनले वा बेचैनीले, सुखले वा दुःखले सन्तानको भविष्यको लागि बाँकी जीवन चुपचाप अर्पण गर्नु सिबाय यी अध्बैँसेसँग उपाय केही छैन । बडो असहज जीवन, हकि !
चाडपर्व आउँछ र स्वदेश सम्झाउँछ । जात्रा–मेला आउँछ र स्वदेश सम्झाउँछ । पितृको श्राद्ध गर्ने तिथि आउँछ र स्वदेश सम्झाउँछ । जीवनको कुनै अविस्मरणीय घटनाको याद आउँछ र स्वदेशको न्यास्रो लगाउँछ । लाएको प्रेमिल मित, खाएको मीठो भोजन र गाएको सुन्दर गीतको याद आउँछ र स्वदेशको सम्झना बल्झिन्छ । ज्यान बिरानो देशमा, स्वदेशको सम्झना झल्झली आँखामा !
चाडपर्व आउँछ र स्वदेश सम्झाउँछ । जात्रा–मेला आउँछ र स्वदेश सम्झाउँछ । पितृको श्राद्ध गर्ने तिथि आउँछ र स्वदेश सम्झाउँछ । जीवनको कुनै अविस्मरणीय घटनाको याद आउँछ र स्वदेशको न्यास्रो लगाउँछ । लाएको प्रेमिल मित, खाएको मीठो भोजन र गाएको सुन्दर गीतको याद आउँछ र स्वदेशको सम्झना बल्झिन्छ । ज्यान बिरानो देशमा, स्वदेशको सम्झना झल्झली आँखामा !
विदेशमा पुगेर फर्किने बाटो हराएको यो दुःखी नेपाली आफैँ आफ्नाे दुःखमा दुःख थप्छ । यो भावुक अन्धराष्ट्रवादबाट पैदा हुने दुःख हो । नालापानी यही दुःखीका चित्तमा दुख्छ, कालापानी यही दुःखीका चित्तमा दुख्छ । ‘अहा मेरो बुद्ध, अहा मेरो सगरमाथा’ भन्दै यो दुःखी रुन खोज्छ । यो भावुकता र यो रोइलो मलाई बडो विरोधाभाषी लाग्छ । म अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु ? मुटु गाँठो पारेर गनुपर्ने त अप्रिय नियतिसँग सम्झौता पो हो । मलाई थाहा छ, मेरो यो विचार यस्ता थुप्रै दुःखीहरूलाई मन पर्दैन । तर जीवनको कठोर वास्तविकता आखिर यही त हो !
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:१३ मा प्रकाशित