
काठमाडौं । नेकपा (एमाले)को पदाधिकारीमा केपी शर्मा ओलीको सूचीमा परेका उम्मेदवार मात्रै विजयी भएका छन् । मंगलबार विभिन्न पदका लागि भएको निर्वाचनमा ओलीको सूचीमा पर्नेले मात्रै जित हात पारेका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निकै फराकिलो मतान्तरले विजयी भएका छन् । यसैगरि ओलीको सूचीमा परेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध चयन भएका छन् ।
यता पार्टी उपाध्यक्षमा भएको निर्वाचनमा ओलीकै सूचीमा परेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ विजयी भएका छन् ।
त्यसैगरि ओलीको सूचीमा रहेका शंकर पोखरेल महासचिवमा निर्विरोध चयन भएका छन् । उपमहासचिवमा पनि ओलीकै सूचीमा परेका सबै उम्मेदवार निर्विरोध चयन भएका छन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल चयन भएका छन् ।
यसैगरि ओलीले सचिवको सूचीमा राखेका सबै उम्मेदवार निर्वाचनबाट विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा सचिव पदमा ओलीकै सूचीका नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुबीर महासेठ विजयी भएका हुन् ।
ओलीको सूचीविरुद्व उम्मेदवारी दिएका भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की पराजीत भएका छन् ।
योसँगै १९ सदस्यीय पदाधिकारीमा सबै ओली प्यानलकै नेताहरु मात्रै समेटिएका छन् ।