घोलिएर रङ्
बालुवा
सिमेण्ट
रड
पानीसँग
बज्रजस्तै बनाएर छाती
लमतन्न
सुतेको छ मेरो करीडोर
आउनेहरू आउँछन्
–ठिकै छ
जानेहरू जान्छन्
–ठिकै छ
बस्नेहरू टुक्रुक्क
या ठसमस्स बस्छन्
–ठिकै छ
सुत्नेहरू लम्पसार
सुतिदिएका छन्
त्यो पनि ठिकै छ
चुपचाप !
शान्त !!
आफ्नै
आयतनमा रहेको छ
मेरो करीडोर !
शृङ्गार सजिएर
एक जुलुस युवतिहरू
गुलावी स्पर्श पाइला राख्छन्
–ठिकै छ
बुठजुत्ता
घोडाका टापजस्तै टाप बजारेर
मध्यरातमा
मातेका गुण्डाहरू आउँछन्
–ठिकै छ
तुर्क्याउँछन्
राश छर्छन्
नाङ्गिएर जान्छन्
–ठिकै छ
औँलादौला
सम्पतिका घोडा चढेर
कार चढेर
ट्याक्सी चढेर
वाहन ग्यारेजमा राख्न
यसमाथि नै दौडन्छन्
–ठिकै छ
अग्लो चिन्तन
अध्यात्मको सेतो
बादल ओढेर
शान्त !
सौम्य !!
सुडोल !!!
बुध्दतनहरू
हातका स्पर्शले
निधार ढोग्दै
बिस्तारै पाइला राख्छन्
–त्यो पनि ठिकै छ
सारङ्गी रेटेर
एकतमास
तन
मन
वचन बनाएर एकाग्र
सङ्गीतको धुनमा
–दुखहरू
–दर्दहरू
–सांसारिक आर्तनादहरू
ब्रह्मलीन गराएर
एकजमात गन्दर्भहरू
प्रवेश गर्छन्
एक पाइलो छेउ टेकेर
ठिकै छ
चुपचाप
चुपचाप
न हाँस्छ
न रुन्छ
न खुशी
न दुखी
न उन्मादको मोज
न प्रणयको भोज
जसबाट बन्यो
यो शालीन
सहनशील
धैर्यधारक
शान्त
अटल वृन्दाचल
के बनाउने मान्छेसँग
यी
र यस्ता गुण रहन्नन् र ??
वि.सं.२०७८ मंसिर १८ शनिवार ०८:२१ मा प्रकाशित